logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भदौ २६ देखि सवारी मेला नाडा अटो शो शुरु हुने, यस्ता छन् आकर्षण

    भदौ २६ देखि सवारी मेला नाडा अटो शो शुरु हुने, यस्ता छन् आकर्षण

    2.3K
    Shares
    भदौ २६ देखि सवारी मेला नाडा अटो शो शुरु हुने, यस्ता छन् आकर्षण

    काठमाडौं। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गर्ने १५औं संस्करणको नाडा अटो शो २०२३ यही भदौ २६ देखि ३१ गतेसम्म सञ्‍चालन हुने भएको छ। नाडाले सोमबार पत्रकार सम्मेलन गरेर शोको अधिकारिक रुपमा घोषणा गरेको हो।

    काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने उक्त सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल छ। साथै सह(प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड छ।

    यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल छन्।

    प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको नाडाले जनाएको छ।

    ‘अहिले अप्ठेरो परिस्थितिको बेलामा पनि हामीले अटो शो गर्ने आँट गरेका छौँ। हाम्रो वार्षिक बिक्रीभन्दा अटो शोमा हुने बिक्री ६० प्रतिशत हुन्छ,’ नाडाका अध्यक्ष ध्रुव थापाले भने।

    यसैगरी, प्रदर्शनीमा सटल बस सञ्‍चालन हुने थापाले बताए। यसका लागि काठमाडौं महानगरपालिकासँग सहकार्य गरेको उनले बताए। यस्तै यो पटक पार्किङ बाहिर अन्य क्षेत्रमा गर्ने व्यवस्था मिलाउने थापाको भनाइ छ।

    प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यु टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्‍चालन गरिने छ।

    हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्‍न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पार्ने थापाको भनाइ छ।

    थापाका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारीसाधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ। नेपालीका ठुला चाडपर्व नजिकिँदै गर्दा आयोजना हुन लागेको उक्त प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्षरुपमा संलग्‍न सबैलाई उत्साहपूर्वक सहभागी गराउने थापाले बताए।

    प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको सन्दर्भमा यसले सवारीसाधनलाई विलासिता मात्र नभइ आम सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्‍यक साधनका रुपमा चित्रण गर्न सहयोग पुग्‍ने आयोजकको विश्‍वास छ।

    प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरु रहने छन्। उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता पनि रहने आयोजकले जनाएको छ।

    प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता हुने आयोजकले जनाएको छ।

    आयोजकका अनुसार प्रदर्शनीलाई बढी जानकारी, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी वित्तीय सेवा, बिक्रीपछिका सेवा लगायतका सेवासुविधाका छुट्टाछुट्टै स्टलहरु रहने छन्। साथै अटोसम्बन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ।

    आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना कक्षसमेत प्रदर्शनीमा रहने आयोजकले जनाएको छ।

    आयोजकका अनुसार उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई ध्यानमा राख्दै गाडी, मोटरसाइकल-स्कुटर, आवश्यक एसेसरिज र वित्तीय संस्थाका छुट्टाछुट्टै प्रदर्शनी हुनेछ।

    एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीड व्यवस्थापन गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमबारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

    सोमबारदेखि भदौ २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्ती एपमा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको आयोजकले जनाएको छ।

    ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्‍वास आयोजकले लिएको छ। यस वर्षको थप आकर्षणमा क्रुज नेपालको प्रायोजनमा नाडाले याडिया ई८एस प्रो इलेक्ट्रिक स्कूटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरेको छ।

    यसैगरी, प्रवेश टिकटको मूल्य सामान्य व्यक्तिको लागि २०० रुपैयाँ र विद्यार्थीहरुका लागि भने १५० रुपैयाँ कायम गरिएको नाडाले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend