काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीवार वार्षिक साधारणसभा गर्ने भएको छ । चालू आर्थिक वर्ष २०७९र८० मा साधारणसभा घोषणा गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ ।
शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत दिएसँगै यही भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो ।
गत आर्थिक वर्षको मुनाफबाट १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ (चुक्ता पुँजीको १३.३ प्रतिशत) बोनस शेयर वितरण गर्न बैंकले स्वीकृति पाएको छ ।
यसका साथै ७ करोड १८ लाख ८९ रुपैयाँ (चुक्ता पुँजीको ०.७ प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि पनि लाभांश वितरण गर्न राष्ट्र बैंकबाट स्वीकृति पाएको बैंकले जनाएको छ ।
उक्त लाभांश बैंकको साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो ।
बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।