logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफैलाई भ्रष्ट करार गरेका तत्कालीन वन निर्देशक कृष्ण भट्ट माथिको छानबिन सकियो

    आफैलाई भ्रष्ट करार गरेका तत्कालीन वन निर्देशक कृष्ण भट्ट माथिको छानबिन सकियो

    1.5K
    Shares
    आफैलाई भ्रष्ट करार गरेका तत्कालीन वन निर्देशक कृष्ण भट्ट माथिको छानबिन सकियो

    कैलाली । आफैलाई भ्रष्ट करार गरेका सुदूरपश्चिम प्रदेशको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टमाथिको छानबिन सकिएको छ । भट्टको सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले आफ्नो छानबिन सकाएर प्रतिवेदन बुझाएको हो ।
    भट्टसँग सोधखोजसहितको अनुसन्धान र छानबिन गरेको सो समितिले भदौ १९ गते प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाएको उपसमितिका संयोजक मानबहादुर धामीले हामीलाई जानकारी दिनुभयो । उहाँका अनुसार उपसमितिले भट्टले आचरण र मर्यादाविपरीत काम गरेकोले आर्थिक अख्तियारीसहितको जिम्मेवारी रोकिनुपर्छ भनेर सिफारिस गरेको छ ।
    यस्तै भट्टले तथानाम बोलेको अडियो÷ भिडियोलाई पनि फरेन्सिक टेस्ट गरि सत्यतथ्य छानबिन गरेर कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालयलाई पत्र लेख्ने निर्णय सिफारिस गरेको धामीले बताउनुभयो । भट्टले सोधपुछका क्रममा भने सो अडियो र भिडियोमा भएको आवाज आफ्नो नभएको भन्दै इन्कारी बयान दिनु भएको बताइएको छ । अब सो उपसमितिको निर्णयमा लेखा समितिले पुनर्विचार अथवा कार्यान्वयन के गर्छ ? त्यो भने हेर्न बाकी छ ।
    यस्तै भट्टलाई यसअघि नै कारबाहीस्वरुप मन्त्रालय तानिएको थियो । विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट घुस रकम असुली गरेको भिडिओ सार्वजनिक भएका भट्टलाई अनुसन्धानका क्रममा मन्त्रालय तानिएको हो । केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका डिभिजन वन कार्यालयबाट पैसा उठाएको कुरा बोल्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो ।
    उहाँले डिभिजन वन कार्यालयबाट रकम उठाउने गरेको कुरा बोलेको भिडिओ र अडियोका सम्बन्धमा अहिले अख्तियारले समेत छानविन गरिरहेको जनाएको छ । उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भट्टमाथि छानबिन थालेको छ । महेन्द्रनगरस्थित अख्तियारको कार्यालयले भट्टले मातहतका डिभिजन वन कार्यालयबाट रकम तोेकेरै उठाएको बताएको भिडिओ सार्वजनिक भएपछि भट्टमाथि छानबिन अघि बढाइएको जनाएको छ ।
    अख्तियार महेन्द्रनगरका प्रमुख आशमान तामाङले भट्टमाथि छानबिन भइरहेको जानकारी दिनुभयो । खासगरी वन निर्देशनालयको तत्कालीन निर्देशक रहेकै बेला हेमराज विष्ट भ्रष्टाचार मुद्दामा मुछिएपछि भट्टले निमित्त वन निर्देशकको जिम्मेवारी पाउनु भएका थियो । गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि विष्ट वन निर्देशकको जिम्मेवारीमा फर्किनु भएको थियो । उहाँभन्दा वरिष्ठ अधिकृत विष्टले अदालतबाट सफाइ पाएर पहिलेकै जिम्मेवारीमा फर्किएपछि पनि भट्टले निमित्त निर्देशक बन्ने चाहाना राख्नु भएको थियो । नेपाली कांग्रेस निकट मानिने भट्टको निमित्त निर्देशक बन्ने चाहाना पूूरा गर्न मुख्यमन्त्री कमलबहादुुर शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको जोडबलमा विष्टको मन्त्रालयमा सरुवा गरिएको स्रोतले बतायो । विष्टको सरुवा भएपनि उहाँ अहिले वन निर्देशनालयको निर्देशककै रुपमा काम गरिरहनु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend