काठमाडौँ । कैलालीको गेटामा पाँच अर्ब बढीका भौतिक संरचनाहरु तयार छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच अर्ब बढी खर्चेर चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारेको हो ।
गेटामा प्रशासनिक भवन, अस्पताल भवन, प्रयोगशाला तथा चिकित्सा शिक्षा अध्यापनका लागि भवन तयार छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पूर्वाधार विकास समितिले छात्रावास भवन तथा आवासका लागि समेत भवन निर्माण गरेको छ । प्रशासन तथा अस्पतालका लागि आवश्यक फर्निचरसमेत गरिद गरिएको छ ।
पाँचवटा ठेक्का मार्फत थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भने जारी छ। विद्युत् लाइन विस्तारको कामसमेत पूरा भएको छ । सडक, खानेपानी र पखार्ल निर्माणको काम जारी छ ।
गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका तत्कालिन निर्देशक हेमराज पुजाराले पुजीगत बजेट ३० करोड बजेट रहेको बताए । पूर्वाधार विकास समिति मार्फत गेटामा दुई अर्ब २० करोडका भौतिक संरचना निर्माणको काम जारी छ । हाल गेटामा चारवटा ठेक्का मार्फत सडक, खानेपानी, पर्खाल तथा भवन निर्माणको काम जारी छ ।
८ किलोमिटर सडक निर्माणका लागि ३६ करोड, ओभरहेड ट्यांकीसहितको खानेपानी विस्तारका लागि २२ करोड, पर्खाल तथा नर्सिङ छात्रावास र चारवटा आवास निर्माणका लागि ४२ करोड र सातवटा भवन निर्माणका लागि ८५ करोडमा ठेक्का सम्झौता गरिएको छ । विद्युत् लाइन विस्तार तथा जडानका लागि ३५ करोडको काम भने पूरा भएको छ ।
चारवटा ठेक्काको काम पूरा गर्न अझै एक आर्थिक वर्ष लाग्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४१ दरबन्दी स्वीकृत गर्दै अस्पताल सञ्चालनको तयारी अघि बढाएका बेला पूर्वाधार विकास समिति भने नेतृत्व विहीन छ । संरचना तयार हुँदा पनि मेडिकल कलेज सञ्चालनको विषयमा भने हालसम्म कुनै सुरसार भएको छैन । जसका कारण सुदूरपश्चिमबाट चिकित्सक उत्पादन गर्ने सपना अधुरै रहेको छ ।