logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एमाले सुदूरपश्चिमको नेतृत्वमा सहमतिको खाका बनाउने जिम्मा इन्चार्ज विश्वकर्मालाई

    एमाले सुदूरपश्चिमको नेतृत्वमा सहमतिको खाका बनाउने जिम्मा इन्चार्ज विश्वकर्मालाई

    2.5K
    Shares
    एमाले सुदूरपश्चिमको नेतृत्वमा सहमतिको खाका बनाउने जिम्मा इन्चार्ज विश्वकर्मालाई

    कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्ने भएको छ ।
    आइतबार उद्घाटन भएको प्रदेश अधिवेशनको बन्द सत्र सोमबार दिउँसोदेखि सुरु भएको छ । बन्द सत्र सुरु हुनुअघि धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल गर्दै राय मागेका थिए ।
    ‘महासचिव कमरेडले प्रदेश अधिवेशनमा सहमति कसरी खोज्न सकिन्छ, कसलाई जिम्मेवारी दिँदा पार्टी प्रभावकारी र एकताबद्व हुन्छ भनेर सबैसँग राय, परामर्श गरिरहनुभएको छ,’ एमाले सुदूरपश्चिमका एक नेताले भने, ‘उहाँले यो क्षेत्रका सबैजसो नयाँ र पूराना नेताहरूसँग छलफल गर्नुभयो । सहमतिकै प्रयास अन्तर्गत महासचिव सक्रिय बन्नुभएको हो ।’

    पोखरेलले नेताहरूसँगको छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिएका अर्का नेताले बताए । ‘इन्चार्ज कमरेडलाई सहमतिको खाका बनाउने जिम्मा दिइएको छ । उहाँले तय गरेका खाकामा नेताहरूले छलफल गरेपछि आवश्यक प्रक्रिया थालिनेछ,’ ती नेताले भने ।

    उनका अनुसार इन्चार्ज विश्वकर्माले ल्याउने खाकामा सहमति हुन नसकेको अवस्थामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्ने समझदारी नेताहरूबीच बनेको छ । एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट पनि सहमतिका अन्तिमसम्म प्रयत्न गरिने बताउँछन् ।
    ‘सहमतिका लागि अन्तिम समयसम्म कोशिस गरिन्छ । आकांक्षीहरुकाबीचमा कुरा नमिले निर्वाचन प्रक्रियाबाट टुंगो लाग्छ,’ भट्टले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेताहरु दबाबमा परेका छन् ।
    आइतबार साँझ बन्द सत्रलाई थाति राखेर नेताहरुले सहमतिका लागि प्रयास गरेका थिए तर आकांक्षीहरुकाबीचमा सहमति हुन सकेको छैन । अध्यक्षमा अहिलेका उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्य कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले आकांक्षा राखेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend