logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ट्राफिक नियम उल्लंघन विरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र

    ट्राफिक नियम उल्लंघन विरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र

    3.5K
    Shares
    ट्राफिक नियम उल्लंघन विरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र

    काठमाडौँ । ट्राफिक नियम उल्लंघन विरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ ।

    प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो ।

    कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताउनुभयो । चाडवाडका समयमा नियम उल्लंघन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उहाँले बताउनुभयो ।

    प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार आज (पछिल्लो २४ घण्टा) मै दुई हजार दुई सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उहाँले बताउनुभयो ।

    यसअघि यही कात्तिक १५ गते दुई हजार चार, कात्तिक १४ गते एक हजार पाँच सय २७ र १३ गते एक हजार पाँच सय ८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते एक हजार एक सय ५५, कात्तिक ११ गते एक हजार सात सय ६८, १० गते एक हजार तीन सय ५५ र कात्तिक ९ गते एक हजार ९७ चालक कारबाहीमा परेका थिए । प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् ।

    त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ । यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लंघनविरुद्ध कारबाही जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताउनुभयो । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend