काठमाडौँ । चारतारे स्तरको ठमेल प्लाजा होटल एन्ड स्विट्स लिमिटेडको व्यापार १ सय ११ प्रतिशत बढेको छ । सन् २०२३ मा होटलले २३ करोड ६० लाख रुपैयाँ कारोबार गरेको छ ।
२०२२ मा होटलले ११ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो। एक वर्षमा होटलको व्यापार १२ करोड ४० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष होटलको अकुपेन्सी रेट ६९ प्रतिशत पुगेपछि आम्दानीमा उछाल आएको हो । होटलको आम्दानी बढेपछि मार्जिन बढेर ५२.८२ पुगेको छ ।
अघिल्लो वर्ष मार्जिन ४१.७८ प्रतिशत थियो । सन् २०२४ सुरु भएयता होटलको अकुपेन्सी रेट बढेर ७२ प्रतिशत पुगेको छ। एक महिनामा मात्रै होटलले १३ करोड रुपैयाँ व्यापार गरेको जनाएको छ । २०२१ मा होटलले २ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो । होटल २०२१ को जनवरीदेखि रमदा इन्कोरको ब्राण्डमा सञ्चालनमा आएको हो ।
पर्यटकको चहलपहल बढेकाले होटलले रिबाउन्स गरेको छ । होटल डालिया इन्भेस्टमेन्ट कम्पनी र गैरआवासीय नेपालीको लगानीमा रमदा इन्कोर वाइनहेम काठमाडौंको व्यवस्थापनमा २०२१ को जनवरीदेखि सञ्चालनमा आएको छ । ठमेल प्लाजा अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो ।
होटलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा रहेको होटलमा १ अर्ब ३९ करोड ३० लाख रुपैयाँ लगानी भएको छ । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न होटल गत वर्ष पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ ।
ठमेल प्लाजा २०१२ मा स्थापना भएको हो। होटल राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा छ । १ हजार १ सय ७० वर्गमिटरमा फैलिएको होटलमा ९० वटा कोठा रहेका छन् । होटल विश्वमा ९ हजार २०० भन्दा बढी छन । रमदाको भारतमा ५२ र चीनमा १ हजार ४०० भन्दा चेन होटल छन । होटल नौ तलाको छ ।