काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा हुनेछ ।
सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो ।
सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।
दक्षिण अफ्रिकामा जारी विश्वकपमा नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो ।