मध्यविन्दु । नवलपरासी, साहसिक खेल कायाकिङको राष्ट्रियस्तरको प्रतियोगिता भोलिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा हुँदैछ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा नारायणी नदीको अमलटारीघाटदेखि नन्दपुर सेहेरीसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा २० जना राष्ट्रिय खेलाडीले भाग लिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो । यही माघ ४ गते अमलटारी घाटदेखि नन्दपुर सेहेरीसम्म गरिएको परीक्षण सफल भएपछि प्रतियोगिता आयोजना गरिएको हो ।
एक जनामात्र बस्न मिल्ने डुङ्गा अर्थात् कायकमार्फत खेलिने कायाकिङ साहसिक खेल विधामा पर्छ, उहाँले भन्नुभयो, प्रतियोगितामा सहभागी खेलाडीले पार गर्ने समयका आधारमा विजेता घोषणा गरिनेछ ।
नवलपरासी बर्दघाट सुस्तापूर्व मा कायाकिङको सफल परीक्षणपछि प्रतियोगिता आयोजना हुनु आफैँमा महत्वपूर्ण भएकाले खेल पर्यटनको गन्तव्यका रूपमा अगाडि बढाउन प्रतियोगिता कोसेढुङ्गा सावित हुने सदस्य सचिव शर्माले बताउनुभयो । खेल पर्यटनमार्फत जैविक विविधता संरक्षणको सन्देश प्रतियोगिताले दिने छ, उहाँले भन्नुभयो ।
प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताको सहआयोजकमा नन्द भाउजु उपभोक्ता समिति नवलपुर छ । सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिने नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताउनुभयो ।रासस