logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिमेन्ट बजारमा मन्दीको असर : नेप्सेमा सूचिकृत ३ मध्ये २ उद्योग नोक्सानमा

    सिमेन्ट बजारमा मन्दीको असर : नेप्सेमा सूचिकृत ३ मध्ये २ उद्योग नोक्सानमा

    1.5K
    Shares
    सिमेन्ट बजारमा मन्दीको असर : नेप्सेमा सूचिकृत ३ मध्ये २ उद्योग नोक्सानमा

    काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा ३ वटा सिमेन्ट उद्योगहरु सूचिकृत भएका छन्। शिवम् सिमेन्टस् लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेड नेप्सेमा सूचिकृत भएका हुन्। सोनापुर र घोराही भर्खरै नेप्सेमा सूचिकृत भएका हुन्। नेप्सेमा सूचिकृत ३ वटै सिमेन्ट उद्योगको वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन्।

    शिवम सिमेन्ट नाफामा छ भने सोनापुर मिनरल्स र घोराही सिमेन्ट नोक्सानमा रहेको उद्योगहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। शिवम् नाफामा भए पनि गत वर्षको भन्दा धेरै घटेको वित्तीय विवरणमा उल्लेख छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा शिवम् सिमेन्टले १४ करोड ८५ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ। शिवमले गत वर्षको सोही अवधिमा ४५ करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको थियो।

    यो वर्षको अवधिमा शिवमको नाफा झण्डै ३० करोड रुपैयाँ घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। घोराही सिमेन्ट ४१ करोड ४ लाख रुपैयाँ घाटामा रहेको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। घोराहीले १ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ।

    यस्तै सोनापुर मिनरल्स १४ करोड ७८ लाख रुपैयाँ नोक्सानमा रहेको छ। सोनापुर मिनरल्सले ७० करोड ५६ लाख रुपैयाँ सिमेन्ट बेचेर आम्दानी गरेको छ। शिवम्को नाफामा भारी गिरावट आएकाले सेयरधनीले पाउने लाभांश पनि धेरै कम हुने देखिएको छ। यद्यपि आर्थिक वर्ष सकिन अझै ६ महिना बाँकी छ।

    बजारमा मन्दी आएका बेला  तयाल ग्रपको सोनापुर मिनरल्सले क्लिङकर र सिमेन्ट उत्पादन क्षमता बढाउन लागेको छ। उद्योगले क्लिङकर उत्पादन क्षमता बढाएर दैनिक १ हजार ६ सय ५० टन पुर्याउने भएको छ।

    अहिले क्लिङकर उत्पादन क्षमता १ हजार २ सय ५० टन छ । सोनापुरले उत्पादन बढाउन मेसिनरी जडान गरेर ब्राउनफिल्ड परियोजना विस्तार गरिरहेको छ। मेसिन जडान गरिरहेको छ। उपकरण जडानपछि कम्पनीको क्लिंकर उत्पादन १६ सय ५० टन र ग्रन्डिङको क्षमता २३ सय टनमा विस्तार हुनेछ।

    क्लिङकर क्षमता बढाउन सोनापुर मिनरल्सले १ अर्ब २४ करोड ७० लाख रुपैयाँ थप लगानी गरेको छ। जसमा बैंकबाट ८० प्रतिशत र बाँकी २० प्रतिशत संस्थापककको स्वपुँजी लगानी भएको छ। अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ। आउँदो असारदेखि व्यवसायिक रुपमा उत्पादन थाल्ने सोनापुरले जनाएको छ। उद्योगले सिमेन्ट उत्पादनलाई बढी प्रभावकारी बनाउन उद्योगले भिआरएम प्रविधि जडान गरिरहेको छ।

    आर्थिक मन्दीका कारण विकास निर्माणमा आएको सुस्तताले माग घटेपछि सिमेन्ट व्यापारमा गिरावट आएको सम्बद्ध उद्योगहरुले जानकारी दिएका छन्। व्यापार घटेपछि उद्योगको आम्दानीमा असर परेको छ।

    सिमेन्ट माग उच्च भएको समयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्दा उत्पादन घटेको दाबी उद्योगहरुको छ। यस्तै बैंकको चर्को ब्याजको असर उद्योगमा परेको छ। सिमेन्ट उद्योगको संख्या बढी भएपछि बजारमा प्रतिस्पर्धा बढेको छ। जसले गर्दा सिमेन्टको मूल्य घट्दै गएको उद्योगहरुले जनाएको छ।

    सूचीकृत ३ वटा कम्पनीलाई तुलना गरेर हेर्दा चुक्ता पुँजी शिवम् सिमेन्ट्सको धेरै देखिएको छ। शिवम्को चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ। सोनापुरको ३ अर्ब ७ करोड ५० लाख र घोराहीको ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी छ।

    यता, सेयर प्रिमियममा घोराहीको २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ। सोनापुर र शिवम् सिमेन्ट्सको क्रमशः १ अर्ब ६५ करोड २३ लाख र ९५ करोड ६२ लाख रुपैयाँ देखिएको छ। सेयर प्रिमियम आइपीओ बिक्रीमार्फत संकलन गरेको रकम जम्मा भएको हो।

    सञ्चालन आम्दानी शिवम् सिमेन्ट्सको ३ अर्ब ५१ करोड, सोनापुरको ७० करोड ५६ लाख र घोराहीको १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। बिक्री लागत पनि क्रमशः ३ अर्ब १ करोड, ६१ करोड ५ लाख र १ अर्ब ५१ करोड रुपैयाँ छ । शिवम सिमेन्टको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा छ। सोनापुर र घोराहीको ऋणात्मक छ।

    मुलुकमा ५५ वटा सिमेन्ट र २० वटा क्लिङकर उत्पादन गर्ने उद्योगहरु रहेका छन्। अर्घाखाँची सिमेन्ट र मारुतीलगायत अन्य सिमेन्ट पनि सेयर बजारमा आउने तयारीमा छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend