logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • १ अर्ब २७ करोडमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    १ अर्ब २७ करोडमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    9.5K
    Shares
    १ अर्ब २७ करोडमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    काठमाडौँ, १७ फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि अलपत्र रहँदै आएको रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिएको हो ।

    धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिकाले आफैंले निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो ।

    महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार १ अर्ब २७ करोड ४८ लाख ८५ हजार रुपैयाँ लागतमा रङ्गशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ। यसअघि बनाइएका संरचनाको समेत उपयोग हुने गरी बनाउन बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए।

    भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण हुनेछ ।

    बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रङ्गशाला निर्माण गर्न लागिएको हो । कूल लागतको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले लगानी गर्नेगरी निर्माण गर्न लागिएको हो । महानगरपालिकाले गर्ने साझेदारीमा संघीय सरकारलेसमेत सहयोग गर्ने जनाइएको छ ।

    महानगरपालिकाका प्रमुख रेनु दाहालले ‘भ्रमण वर्ष २०२४’ को एउटा आकर्षक गन्तव्य रङ्गशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटनअगावै बोलपत्र आह्वान गरिएको जानकारी दिइन्।

    आज एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ ।

    रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न ३ अर्ब रुपैयाँ भन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ ।

    महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माण अघि बढाइएको बताए । यो समय सकिएपछि थप गर्न मिल्नेगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहमतिमा जग्गा लिइएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला निर्माण थालिएको थियो ।

    विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै संघ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताए । उनले भने, “महानगरको यो महत्त्वपूर्ण आयोजना हो । अब बन्ने सुनिश्चित भयो ।”

    फाउण्डेसनले निर्माणका क्रममा तिर्नुपर्ने बाँकी भुक्तानी निर्माणका क्रममा लगाइएको महायज्ञमा घोषणा गरिएको बाँकी रकम उठाएर भुक्तानी गर्ने सहमति भएको छ । यसका लागि समिति निर्माण गरेर काम गर्ने तयारी गरिएको छ ।

    यसअघि बागमती प्रदेश र स्थानीय तह (भरतपुर महानगरपालिका)को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।

    प्रदेश सरकारले रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ। यसअघि कात्तिक २१ मा प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि कूल ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने सम्झौता भएको थियो।

    महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको हो। बैठकले भरतपुर महानगरपालिकालाई रंगशालाको निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।

    भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण हुने क्रिकेट रङ्गशालाको जग्गाको क्षेत्रफल २० कठ्ठा रहेको छ। उक्त जग्गामा महानगरको भोगअधिकार स्वामित्व रहने छ। प्रस्तावित रङ्गशालामा ३० हजार दर्शक अटाउन सक्ने ५ वटा पिच भएका भवन संरचनासहित ३.५९ हेक्टर पार्किङ क्षेत्रसहितको रङ्गशाला बन्न लागेको हो।

    यो पनि हेर्नुहोस

    भरतपुरमा १ अर्बमा बन्ने भयो गौतम बुद्ध क्रिकेट रङशाला, इआइएको काम सुरु

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend