चैत १ काठमाडौं: नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले आहा रारा गोल्डकपको उपाधि चुमेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङले पुलिसलाई टाइब्रेकरमा हराएर उपाधि चुमेको हो। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट उपाधि टुंगो लगाइएको हो। मनाङलाई उपाधि दिलाउन टाइब्रेकरमा अञ्जन विष्ट, सुरज विक, पुजन उपरकोटी र रञ्जन विष्टले गोल गरे। मनाङका निशान लिम्बुको प्रहार भने नेपाल पुलिसका गोल किपर रोशन खड्काले बचाएका थिए। मनाङका गोल किपर अशोक बरालले पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार राेकेपछि मनाङले उपाधि कब्जा गरेको हो। यो जितसँगै मनाङले छैटौं पटक आहा रारा कपको उपाधि जितेको छ।