काठमाडौं । अहिले अर्थतन्त्रमा सुस्तता आई कर्जाको माग घटेको छ । निक्षेप थुप्रिने र कर्जाको माग धेरै कम भएपछि बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ ।
बैंकमा अधिक तरलता भएपछि यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरिरहेको छ । बिहीबार मात्रै केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
आज बिहीबार बोलकबोलबाट निक्षेप संकलन औजारको प्रयोग गरेर सो रकम तान्ने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने भएका छन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यो उपकरणको अवधि १४ दिनको हो । साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
बैंकमा ऋणको माग कम भएर पैसाको थुप्रो लागेपछि राष्ट्र बैंकले व्यवस्थापन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८० प्रतिशत छ । बैंकिङ प्रणालीमा कूल निक्षेप ६१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । ५० खर्ब ९० अर्ब रुपैयाँ बैंकको ऋण लगानी रहेको छ । बैंकहरुमा अधिक तरलता भए पनि अन्तर बैंक ब्याजदर २.९१ प्रतिशत छ ।
पछिल्लो समयमा देखिएको बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएको छ । स्थायी निक्षेप सुविधा (एसडिएफ) ले तरलता नघटेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणसमेत जारी गर्दै आएको छ ।
बुधबार मात्रै बैंकहरुले स्थायी निक्षेप सुविधा उपयोग गरी राष्ट्र बैंकमा ४३ अर्ब ८० करोड रुपैयाँ जम्मा गरेका छन् । बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राखेका छन ।
बैंकहरुमा निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको न्यून माग तथा ऋण असूली नभएर खराब कर्जा अनुपात बढ्दै गएपछि बैंकहरु अहिले पुँजीकोष व्यवस्थापनको दबाबमा छन् । पुँजीकोष दबाब भएका केही बैंकहरुले ऋण लगानी गर्ने अवस्था छैन । ऋण लगानी गर्न नपाएपछि केही बैंकको व्यवसाय ठप्प हुने पुगेको छ ।
बजारमा तरलता बढी भएर अधिक तरलताको जोखिममा वित्तीय सस्था पर्न थालेपछि राष्ट्र बैंकले नीतिगत सहजीकरण नगरी सुखै छैन । अहिले बैंकहरुको लगानीको ब्याज नउठेर निष्क्रिय कर्जा अत्यधिक बढेको अवस्था छ । यस्तोमा आगामी चैतमा त्यो झनै बढ्नेछ ।