logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कर्जाको माग नभएर बैंकमा पैसा थुप्रिएपछि ५० अर्ब उठाउँदै राष्ट्र बैंक

    कर्जाको माग नभएर बैंकमा पैसा थुप्रिएपछि ५० अर्ब उठाउँदै राष्ट्र बैंक

    2K
    Shares
    कर्जाको माग नभएर बैंकमा पैसा थुप्रिएपछि ५० अर्ब उठाउँदै राष्ट्र बैंक

    काठमाडौं । अहिले अर्थतन्त्रमा सुस्तता आई कर्जाको माग घटेको छ । निक्षेप थुप्रिने र कर्जाको माग धेरै कम भएपछि बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ ।

    बैंकमा अधिक तरलता भएपछि यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरिरहेको छ । बिहीबार मात्रै केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

    आज बिहीबार बोलकबोलबाट निक्षेप संकलन औजारको प्रयोग गरेर सो रकम तान्ने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने भएका छन् ।

    बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यो उपकरणको अवधि १४ दिनको हो । साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    बैंकमा ऋणको माग कम भएर पैसाको थुप्रो लागेपछि राष्ट्र बैंकले व्यवस्थापन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८० प्रतिशत छ । बैंकिङ प्रणालीमा कूल निक्षेप ६१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । ५० खर्ब ९० अर्ब  रुपैयाँ बैंकको ऋण लगानी रहेको छ । बैंकहरुमा अधिक तरलता भए पनि अन्तर बैंक ब्याजदर २.९१ प्रतिशत छ ।

    पछिल्लो समयमा देखिएको बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएको छ । स्थायी निक्षेप सुविधा (एसडिएफ) ले तरलता नघटेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणसमेत जारी गर्दै आएको छ ।

    बुधबार मात्रै बैंकहरुले स्थायी निक्षेप सुविधा उपयोग गरी राष्ट्र बैंकमा ४३ अर्ब ८० करोड रुपैयाँ जम्मा गरेका छन् । बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राखेका छन ।

    बैंकहरुमा निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको न्यून माग तथा ऋण असूली नभएर खराब कर्जा अनुपात बढ्दै गएपछि बैंकहरु अहिले पुँजीकोष व्यवस्थापनको दबाबमा छन् । पुँजीकोष दबाब भएका केही बैंकहरुले ऋण लगानी गर्ने अवस्था छैन । ऋण लगानी गर्न नपाएपछि केही बैंकको व्यवसाय ठप्प हुने पुगेको छ ।

    बजारमा तरलता बढी भएर अधिक तरलताको जोखिममा वित्तीय सस्था पर्न थालेपछि राष्ट्र बैंकले नीतिगत सहजीकरण नगरी सुखै छैन । अहिले बैंकहरुको लगानीको ब्याज नउठेर निष्क्रिय कर्जा अत्यधिक बढेको अवस्था छ । यस्तोमा आगामी चैतमा त्यो झनै बढ्नेछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend