काठमाडौं, १ चैत । समृद्धि इनर्जी लिमिटेडले २ सय १६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना बनाउने भएको छ ।
आयोजनाबाट बिजुली उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिन समृद्धि इनर्जीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा दरखास्त दिएको छ । दरखास्त आएपछि मन्त्रालयले सार्वजनिक सूचना जारी गरेका छ । ३५ दिनपछि कम्पनीले सरकारबाट विद्युत उत्पादन लाइसेन्स पाउने छ ।
अर्धजलासय (पिआरओआर) आयोजनाबाट वार्षिक १ अर्ब २२ करोड ९६ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । जसअनुसार वर्खामा ८३ करोड ४५ लाख ३० हजार र सुक्खामा ३९ करोड ५० लाख ७ हजार युनिट बिजुली उत्पादन हुनेछ । अर्धजलासययुक्त आयोजना बनाउन ४४ अर्ब ४४ करोड ७१ लाख ९० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
अनुुमानित कूल लागतलाई आधार मान्दा आयोजना बनाउन प्रतिमेगावाट २० करोड ५७ लाख रुपैयाँ लाग्ने भएको छ । आयोजनामा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापक र सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेर जुटाउने योजना समृद्धिको छ ।
आयोजना आगामी २०८८ असार ३१ गते सक्ने लक्ष्य राखेको विकासकर्ता समृद्धि इनर्जीले जनाएको छ । कम्पनीले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याँकन (इआइए) तयार पारिसकेको छ ।
आयोजनाको विद्युतगृहमा ५५.७ मेगावाट क्षमताका ४ वटा भर्टिकल एक्सिस पेल्र्टन टर्वाइनबाट २ सय १६ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युतगृहबाट उत्पादन हुने बिजुली १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १ सय २६ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको कैलालीको लम्कि सबस्टेशनमा जोडिने छ । आयोजनाको सबै संरचना बझाङको साइपाल गाउँपालिकामा पर्छ ।
नेपाल विद्युत प्राधिकरण र समृद्धिबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिद सम्झौता (पिपिए) भइसकेको छ । पिपिएका लागि आयोगले असार १९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको थियो ।
विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली वर्खामा युनिटको ४.८० रुपैयाँ तय गरेको छ । यस्तै सुक्खायाममा आयोजनाको पिकिङ क्षमताअनुसार न्यूनतम ८.५० देखि अधिकतम् १०.५५ रुपैयाँ तोकेको छ ।
यो पिकिङलाई आधार मानेर पिपिए दर तय गरिएको हो । सुक्खायाममा दैनिक ४ देखि ६ घण्टासम्म पिकिङ भएमा युनिटको १०.५५ रुपैयाँमा पिपिए हुनेछ । आयोजनाले ५ लाख ५२ हजार ४ सय २० घनमिटर पानी भण्डारण गरी अधिकतम् ४.५ घण्टा विद्युत उत्पादन हुने समृद्धिले जनाएको छ । आयोजनाले वर्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ ।
आयोजना सुदुरपश्चिम प्रदेशको बझाङ साइपाल गाउँपालिकामा रहेको सेती नदीको पानीलाई उपयोग गरेर बिजुली उत्पादन हुने भएको छ । विद्युतगृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ ।
आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ । आयोजनाको बाँध साइपालको वडा नम्बर ४ र ५ मा रहने भएको छ । अन्य संरचना सेती नदीको बाँया किनारमा रहने छ । नदीको पानी फर्काउन ४० मिटर लामो र १४ मिटर अग्लो बाँध निर्माण प्रस्ताव गरिएको छ ।