काठमाडौं, १४ चैत्र । नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत बनाउन लागेको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको पहिलो लटका लागि निर्माण व्यवसायी छनौट भएको छ ।
बोलपत्रमा सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने एसएससिइ हाइ हिमालय जेभी कम्पनीले आयोजना बनाउने जिम्मा पाएको छ । विकासकर्ता मोदी जलविद्युत कम्पनी लिमिटेडले छनौट भएको एसएससिइ हाइ हिमालय जेभीलाई आशयपत्र दिएको छ । आशयपत्र जारी भएकाले मोदी जलविद्युत कम्पनी र ठेकेदार एसएससिइबीच आयोजना बनाउन ठेक्का समझौता हुने भएको छ ।
पहिलो लटमा सिभिल संरचना निर्माण र हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडान रहेको छ । निर्माण व्यवसायी एसएससिइ हाइ हिमालय जेभीलाई २ करोड २१ लाख १८ हजार डलर र २ अर्ब ४ करोड ६८ लाख ४६ हजार रुपैयाँमा भुक्तानी हुने मोदी जलविद्युत कम्पनीले जनाएको छ ।
आयोजनाको प्योकज–१ अन्र्तगत सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा निर्माण हुने भएको छ । पहिलो लटका लागि साढे ४ अर्ब खर्च हुने देखिएको छ ।
४२ मेगावाटको माथिल्लो र १८.५ मेगावाटको तल्लो मोदी आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको छ । आयोजनामा ७० प्रतिशत बैंकको ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइने गरी लगानी संरचना तयार पारिएको छ ।
आयोजनामा एनएमबी बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले (एचआइडिसिएल) सहवित्तीयकरण मार्फत आयोजनामा निर्माण अवधिको ब्याजसहित ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।
कुल ऋणमध्ये एनएमबी बैंकको ४ अर्ब ४० करोड र एचआइडिसिएलको ३ अर्ब रुपैयाँ ऋण लगानी रहने भएको छ ।
माथिल्लो मोदी निर्माण सुरु भएको ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म आयोजना निर्माण तयारीका काम भइरहेका छन्। ।
बोलपत्र आह्वान गरी बोलपत्रदाताले पेस गरेको प्राविधिक प्रस्ताव मूल्यांकनको अन्तिम चरणमा छ । कम्पनीले १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत्त आयोजनासमेत निर्माण गर्नेछ ।