ताप्लेजुङ । देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबुलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्याली निकालिएको छ ।
ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्यालीमा सयौं संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो ।
‘वृहत नागरिक सद्भाव र्याली’ लेखिएको व्यानरसहितको उक्त र्यालीमा नौमति बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रर्दशन गरिएको थियो ।
र्यालीमा उपस्थित स्थानीयले केबुलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिएका थिए ।
र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केबुलकार निर्माणले ठूलो टेवा पुयाउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
यसैगरी, युमा साम्यो अभियान्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केबुलकार बन्नुपर्ने बताए ।
यस्तै, कार्यक्रममा सहभागी महिला अगुवा मीना गुरुङले केबुलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन् ।
आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केबुलकार निर्माण गर्ने योजना रहेको छ । केबुलकार परियोजना बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।
आइएमई ग्रुपले चन्द्रागिरी, मौलाकाली र लुम्बिनी गरी ३ केबुलकार सञ्चालनमा ल्याइसकेको छ। आइएमईले यति ग्रुपसँग पाथिभरा केबुलकार किनेको हो। पाथिभरा केबुलकार बनाउन अहिले प्रारम्भीक चरणको कामहरु भइरहेको ग्रुपले जनाएको छ ।
त्यहाँका स्थानीय बासिन्दाहरुले छिटो केबुलकारको काम अघि बढाउन माग गरेका छन् ।१६ वटा गोन्डुलासहितको केबुलकारमा प्रतिघन्टा ५ सय यात्रु ओहोरदोहोर गर्न सक्ने बताइएको छ।
केबुलकार बनाउन पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले निर्माणको अनुमति पाएको छ ।