logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पानमा पेपर्स प्रकरणमा २७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ सुरु

    पानमा पेपर्स प्रकरणमा २७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ सुरु

    2.7K
    Shares
    पानमा पेपर्स प्रकरणमा २७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ सुरु

    बीबीसी । पानमाको एउटा अदालतमा पानमा पेपर्स सम्पत्ति शुद्धीकरण प्रकरणमा परेको २७ जनाविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको छ।

    सन् २०१६ मा ठूलो सङ्ख्यामा गोप्य वित्तीय दस्ताबेजहरू चुहिएपछि विश्वका केही धनी र शक्तिशाली व्यक्तिहरूले अफसोर कम्पनीहरूमा कसरी सम्पत्ति थुपारेका छन् भन्ने खुलेको थियो।

    उक्त प्रकरणमा २७ जनाविरुद्ध अभियोग दर्ता भएको छ। तीमध्ये यूर्गन मोसाक र र्‍यामन फोन्सेका मोरा पनि छन्।

    उनीहरूले ‘मोसाक फोन्सेका’ नामक कानुनी सेवा दिने संस्था स्थापना गरेका थिए। उक्त फर्म अहिले बन्द भइसकेको छ। उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग छ।

    तर दुवै जनाले आफू, आफ्नो फर्म र आफ्ना कर्मचारी कोही पनि गैरकानुनी गतिविधिमा संलग्न नभएको दाबी गरेका छन्।

    सन् २०१७ मा उक्त कम्पनीले आफ्ना कम्प्युटर ह्याक गरिएको र चुहिएको सूचनाबाट गलत अर्थ लागेको दाबी गरेको थियो।

    दोषी ठहर भए मोसाक र फोन्सेकालाई १२ वर्षको जेल सजाय हुन सक्छ।

    चुहिएको दस्ताबेजमा के छ ?

    १ करोड १० लाखवटा वित्तीय दस्ताबेजको सँगालो भएको पानमा पेपर्स लीकु ले विश्वभरिका १सय भन्दा बढी नेताहरूको नाम मुछेको थियो। तीमध्ये केही विभिन्न देशका पदासीन राष्ट्रप्रमुख र सरकार प्रमुख थिए भने केही अर्बपति र खेलकुदका चर्चित हस्तीहरू पनि थिए।

    उक्त प्रकरणले पानमा र ब्रिटिश भर्जिन आइल्यान्ड्सजस्ता करमुक्त स्थानलाई कसरी धनाढ्य र शक्तिशाली व्यक्तिहरूले आफ्नो सम्पत्ति लुकाउन र कर छल्न प्रयोग गरेका थिए भन्ने उजागर गर्‍यो।

    मुद्दाको सुनुवाइ सुरु हुँदा मोसाक अदालतमा उपस्थित भएका थिए। वकिलहरूले फोन्सेका अस्पतालमा भएको बताए।

    फोन्सेका पानमाका तात्कालिक राष्ट्रपति हुवाँ कार्लोस भारेलाको सरकारमा मन्त्री थिए। तर उनले २०१६ मा पदत्याग गरे।

    गोप्य दस्ताबेज चुहिएपछि मोसाक फोन्सेकाले आफूले ४० वर्षदेखि निरन्तर सेवा दिँदै आएको र आफूमाथि कहिल्यै कुनै प्रश्न नउठेको बताएको थियो। सन् २०१८ मा उक्त फर्म बन्द भयो।

    आइसल्यान्डका तात्कालिक प्रधानमन्त्री र उनकी पत्नीको स्वामित्वमा एउटा अफसोर कम्पनी भएको खुलेपछि सिग्मुन्डर गुन्लौग्सनले पदत्याग गरेका थिए।

    पानमा पेपर्समा आइसल्यान्डका अरू मन्त्रीहरूको नाम पनि देखा परेको थियो।

    ती दस्ताबेजमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीहरू, चीनका राष्ट्रपति सि चिनफिगका एक नातेदार, युक्रेनका तात्कालिक राष्ट्रपति पेट्रो पोरोसेन्को, आर्जेन्टिनाका तात्कालिक राष्ट्रपति मौरिसिओ माक्री, बेलायतका तात्कालिक प्रधानमन्त्री डेभिड क्यामरनका दिवङ्गत पिता र पाकिस्तानका तात्कालिक प्रधानमन्त्री नवाज शरिफका चार सन्तानको नाम पनि उल्लेख भएको छ।

    यो प्रकरणमा फुटबलको नियामक निकाय फिफाको नाम पनि जोडिएको थियो। फिफाको नीति समितिका एक सदस्य तथा यूरुग्वेका वकिल हुवाँ पेड्रो डामियानी र उनको फर्मले भ्रष्टाचार प्रकरणमा पक्राउ परेका फिफाका एक वरिष्ठ पदाधिकारीको स्वामित्वमा रहेका कम्तीमा सातवटा अफशोरु कम्पनीलाई कानुनी परामर्श दिएको खुलेको थियो।

    पानमा पेपर्सले ५ सय वटा बैंकमा झन्डै १५ हजार ६ सय वटा सेल कम्पनीको नाम मोसाक फोन्सेका मार्फत् दर्ता भएको देखाएको थियो।

    प्यानमा पेपर्स प्रकरणपछि आइसल्यान्डका प्रधानमन्त्रीले राजीनामा दिएका थिए ।

    पानमा पेपर्स कसले चुहायो ?

    ती दस्ताबेजहरू सबैभन्दा पहिला जर्मन पत्रिका जुड्‌डोइच त्साइटुङुलाई उपलब्ध गराइएको थियो। त्यसपछि उसले इन्टरन्याश्नल कन्सर्टिअम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स (आईसीआईजे) लाई पनि उपलब्ध गरायो।

    आईसीआईजेले ७६ देशका १ सय वटाभन्दा बढी सञ्चारमाध्यमसँग मिलेर लामो समयसम्म अनुसन्धान गर्‍यो। बीबीसी प्यानरामाुले पनि चुहिएका दस्ताबेजहरूको विश्लेषण गरेको थियो।

    पानमा पेपर्समा कम्पनी, कोष र फाउन्डेशनसहित कुल २ लाख १४ हजार वटा संस्थासँग सम्बन्धित विवरण छ। तिनमा सन् १९७७ देखि डिसेम्बर २०१५ सम्मका सामग्री छन्। तीमध्ये अधिकांश इमेल छन् भने केही करारनामा र राहदानीका तस्बिरहरू पनि छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend