
काठमाडौं। अमेरिकी डलर महँगिएर नेपाली बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ । अब १ डलर किन्न १३३.८३ रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सामान्य उतारचढाव आए पनि गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलरबराबर १३३.५७ रुपैयाँ कायम भएको थियो । १ डलर बराबर १३२ रुपैयाँ हारहारीमा आएकोमा फेरी नयाँ रकेर्ड कायम राखेको छ । माघको अन्तिम सातादेखि डलर कमजोर हुन थालेको थियो ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । मंगलबार १ डलरबराबर ८३.५१ भारु पुगेको छ । डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।
रुस–युक्रेन युद्ध र पछिल्लो समय इरानले इजरायलमाथि आक्रमणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो । डलर बलियो भएपछि भारु कमजोर हुँदै गएको छ ।
नेपाल र भारतमा मात्र होइन, विश्वबजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन् । विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको तथ्याँक छ ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ । डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन बल पुगेको छ । विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ ।
राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तको तुलनामा २०८० फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.७३ प्रतिशतले अवमूल्यन भएको छ । अमेरिकामा ब्याजदर बढेर पहिलोपटक ५ प्रतिशतमाथि पुगेको छ । उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइरहने छ ।
अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । पेट्रोलियम पदार्थको मूल्य पनि अस्थिर छ ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन्। रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ । चालू आर्थिक वर्षको सात महिनामा विदेशी मुद्रा सञ्चितीले नयाँ रेकर्ड कायम राखेको छ । कुल विदेशी विनिमय सञ्चिति बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । यस्तै अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढेको छ ।
यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।
अझ बढ्ने प्रक्षेपण
आगामी तीन आर्थिक वर्षमा अमेरिकी डलर बलियो भई नेपाली रुपैयाँ झनै कमजोर हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले डलरको मूल्य बढेर नयाँ कीर्तिमान राख्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।
मध्यकालीन खर्च संरचनाको अन्तिम आर्थिक वर्ष २०८२ ८३ मा १ डलरबराबर १ सय ३६ रुपैयाँ ९ पैसा पुग्ने अनुमान छ। यस्तै २०८०/८१ मा १ सय ३३.६ र २०८१/०८२ मा १ सय ३४.२ पुग्ने अनुमान छ।
फेडेरल रिजर्भले एक वर्षभन्दा केही बढी समय अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरिसकेको छ। फेडले २०२२ मार्चदेखि आफ्नो महत्वपूर्ण कर्जा दरलाई ५ प्रतिशत अंकले बढाइसकेको छ । ब्याजदर ५ देखि ५.२५ प्रतिशतको दायरामा पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend