logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • निम्बस ग्रुपको प्रोबायोटेक इन्डष्ट्रिजको साढे ११ अर्ब व्यापार

    निम्बस ग्रुपको प्रोबायोटेक इन्डष्ट्रिजको साढे ११ अर्ब व्यापार

    780
    Shares
    निम्बस ग्रुपको प्रोबायोटेक इन्डष्ट्रिजको साढे ११ अर्ब व्यापार

    काठमाडौं । अर्थतन्त्रमा देखिएको मन्दीको असर व्यवसायिक घरना निम्बस ग्रुपले सञ्चालन गरिरहेको प्रोबायोटेक इन्डिस्ट्रिज लिमिटेडको व्यापारमा देखिएको छ । एक वर्षमा प्रोबायोटेक इन्डष्ट्रिजको व्यापार २४ प्रतिशत घटेको छ ।

    सन् २०२३ मा प्रोबायोटेकले ११ अर्ब ४२ करोड १० लाख रुपैयाँको खाद्यन्न र पशुदाना बिजनेस गरेको छ । सन् २०२२ मा उद्योगले १४ अर्ब ९३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । एक वर्षको अवधिमा प्रोबायोटेकको व्यापार ३ अर्ब ५१ करोड १० लाख रुपैयाँ घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    गत वर्ष ५७ प्रतिशत आम्दानी पशुदाना सेग्मेन्टबाट भएको छ । बाँकी ४३ प्रतिशत खाद्यन्नबाट भएको उद्योगले जनाएको छ ।

    २०२१ मा ११ अर्ब १० करोड ९० लाख, २०२० मा ८ अर्ब २५ करोड ६० लाख र २०१९ मा ७ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ व्यापार गरेको थियो । २०१९ मा ७ अर्ब ७३ करोड ७० लाख, २०१८ मा ६ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

    प्रोबायोटेकले ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । ४३ करोड १० लाख दीर्घकालिन र ३ अर्ब ९१ करोड अल्पकालिन ऋणको रेटिङ गराएको हो । उद्योगले इक्रा नेपाल लिमिटेडबाट ए फोर रेटिङ पाएको छ ।

    उद्योगको ऋण बढेकाले तरलतामा दबाब थपिएको छ । गत वर्षको तुलनामा यो वर्षको ८ महिनामा प्रोबायोटेकको आम्दानी ४२ प्रतिशत घटेको छ ।

    निम्बसले नेपालमा कृषिलाई उद्योगमा रूपान्तरण गरेको छ । सन २००१ मा स्थापना भएको प्रोबायोटेकले पशुको आहारा, खानेतेल र दाललगायत खाद्यान्न उत्पादन गर्दै आएको छ । प्रोबायोटल २०२१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।

    उद्योगको उत्पादन क्षमता वार्षिक १ लाख टन छ । यो नेपालकै ठूलो प्लेट फिड उत्पादन गर्ने उद्योग हो । प्रोबायोटेकको व्यापार दुई खण्डमा छ । दाना र खाना जस्तैः खाद्य तेल, दाल र पिठो रहेको छ । हालको अवधिमा दाना खण्डअन्तर्गत ब्रोइलर र लेयर फिड उत्पादन गरिएको छ ।

    यस्तै ६९ हजार ५ सय टन सोया, ४९ हजार टन खानेतेल, २३ हजार टन पिठो र ३० हजार टन दाल उत्पादन क्षमता छ । कारखाना वीरगन्ज–२१, लिपानीबिर्ता जगरनाथपुरमा छ । कम्पनीले व्यञ्जन, शक्ति, शक्ति हाइगेन, सोयम्याक्स, सुनौलो किरण, प्रोबिट र प्रोमिन ब्रान्डका वस्तु उत्पादन गर्दै आएको छ ।

    प्रोबायोटेकमा निम्बसको ६४ प्रतिशत हिस्सा छ । प्रोबायोटेकले सन् २००४ देखि पशुदाना उत्पादन थालेको हो । उद्योग नेपालको पहिलो पशुदाना उत्पादक हो । कम्पनीमा आनन्द अग्रवाल बगरिया र जगदिश अग्रवाल रहेका छन् ।

    नेपाल वेयर हाउजिङ कम्पनी सञ्चालनमा

    कृषिजन्य उत्पादनको भण्डारणका लागि निम्बस ग्रुपले प्रवद्र्धन गरेको नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको दुई खाद्यान्न भण्डार केन्द्र एक वर्षभित्र सञ्चालनमा आउने भएको छ ।

    सुनसरीमा रहेको भण्डारण सञ्चालनमा आइसकेको छ । यस्तै पर्सामा रहेको भण्डारणको काम सकिएको छ । कपिलवस्तुमा रहेको भण्डारण निर्माण जारी छ ।

    सन् २०२४ को अन्तिममा सञ्चालनमा आउने नेपाल वेयर हाउजिङले जनाएको छ । सुनसरीको भण्डारण कूल क्षमताको ३० प्रतिशतमा मात्र चलिरहेको छ । पर्साको भण्डार असोजसम्म सञ्चालनमा आउने अनुमान गरिएको छ ।

    ३ स्थानमा भण्डारण केन्द्रहरु बनेपछि वेयर हाउजिङको कुल क्षमता ५५ हजार टन पुग्ने छ । कम्पनीले प्रदेश नम्बर १ को सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीमा भण्डारण गृह बनाइ २०७८ चैत २० गते सञ्चालनमा ल्याइसकेको छ ।

    यसको भण्डारण क्षमता १५ हजार टन छ । यस्तै मधेस प्रदेशको पर्सामा कम्पनीको २५ हजार टन खाद्यान्न भण्डारण गर्ने क्षमता छ ।लुम्बिनी प्रदेशको कपिलवस्तुमा १५ हजार टन क्षमताको भण्डारण केन्द्र निर्माणाधीन अवस्थामा छ ।

    भण्डारण पूर्वाधार निर्माणको काम एक वर्ष ढिलाइ भएको नेपाल वेयर हाउजिङले जनाएको छ । कम्पनीले खाद्यान्न भण्डारण गृहमार्फत कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु प्रमुख उद्देश्य रहेको बताएको छ ।

    मुलुकको सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका सहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषिजन्य वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend