काठमाडौँ । डोटीको जोरायल गाउँगालिका–२ छतिवनमा रहेको ऐतिहासिक महत्व बोकेको छतिवन तालको स्थानीय एवं केन्द्र स्तरबाट प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न सकेका छैनन् ।
उक्त तालकै नामबाट यस अघि यहाँ छतिवन गाविस राखिएको थियो । अहिले उक्त ताल पर्यटकको पर्खाइमा रहेको छ ।तालको गहिराई कति छ भन्ने अहिलेसम्म कसैलाई थाहा नभएको तथा प्रचुर पर्यटकीय सम्भावना बोकेको तालको संरक्षण तथा प्रचारप्रसार हुन नसक्दा पर्यटक भित्राउन नसकिएको स्थानीयवासी योगेन्द्र मल्लले बताए । उनले भने, “तालका विषयमा विभिन्न किम्बदन्ति रहेपनि उक्त ताल कति गहिरो छ अहिले सम्म कसैलाई जानकारी छैन, ताल संरक्षण नहुँदा बिस्तारै पुरिदै गएको देखिन्छ ।”
तालसम्म पुग्ने कालोपत्रे सडक निर्माण गरिएको भएपनि अन्य संरचना र पुर्वाधार नभएका कारण पर्यटक भित्राउन समस्या भएको उनको भनाई छ । उक्त क्षेत्रको प्रचारप्रसारका लागि आवश्यक पुर्वाधार तयार गरी पर्यटक भित्रयाउनु पर्ने स्थानीयवासीले माग गर्दै आएका छन् ।
जोरायल क्षेत्रमा रहेको छतिवन ताल, छ्हरा झर्ना, बास्मती धानको प्रचारप्रसार गर्न सक्ने हो भने पर्यटकलाई तान्न सकिने जोरायल गाउँपालिका–१ का स्थानीयवासी तथा युवा नेता किरण मल्लले बताए । उनले भने, “हाम्रो जोरायल क्षेत्रमा अशंख्य रुपमा पर्यटकीय क्षेत्रहरु रहेका छन्, यति क्षेत्रको मात्रै प्रचारप्रसार गर्न सकिए यहाँको विकास आफै हुने छ ।”
उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा छतिवन तला लगायतका यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा थप स्तरोन्नतीका लागि गाउँपालिकाले विभिन्न योजना अघी बढाएको बताए । उनले भने, “हाम्रो पालिकामा रहेका धार्मिक, पर्यटकीय लगायतका क्षेत्रको विकासका लागि हामीले थुप्रै योजना बनाएका छौँ, धेरै पर्यटकीय क्षेत्रमा काम सम्पन्न भएर अहिले धमाधम पर्यटकहरु आउन थालेका छन्, बाँकी रहेका क्षेत्रमा कामको सुरुवात हुन्छ ।”
उच्च ठाउँमा रहेको उक्त तालमा कहाँबाट पानी आउँछ र कहाँ जान्छ भन्ने अहिलेसम्म कसैलाई जानकारी नभएको स्थानीयवासी बताउँछन् ।
समयमै उचित संरक्षण तथा संवद्र्धन नगरिँदा तालको अस्तित्व नै खतरामा पर्न थालेको छ । परापूर्वकालमा उक्त ताल भएको ठाउँमा रोपाइँ गर्ने खेत भएको र एक दिन रोपाइँको समयमा उक्त खेतमा माछा आउँदा रोपाइँ गर्ने किसानले उक्त माछा मार्दा खेतमा ठूलो भ्वाङ परी सबै रोपाहार त्यही भ्वाङमा परेर मरेको र तलाउ जमेको किंवदन्ती रहेको जोरायल गाउँपालिका–२ बुडरका समाजसेवी कर्णबहादुर मल्लले बताए ।
अग्लो डाँडामा रहेको र पर्यटकलाई मोहनी लगाउने उक्त तालको संरक्षण र प्रचारमा स्थानीय तहको ध्यान नपुगेपछि तालको सुन्दरता र अस्तित्व नै संकटमा पर्दै गएको बुडरका स्थानीय लोकबहादुर मल्लले बताए । उनले भने, ‘वरिपरि जंगल भएको र बीचमा अग्लो डाँडामा उक्त ताल भएकाले संरक्षण गरिए पर्यटकको आकर्षणको केन्द्र हुने थियो ।’
तालमा आवश्यक पूर्वाधार निर्माण गर्न विभिन्न निकायसँग समन्वय गरेको भए पनि कतैबाट सहयोग नमिलेको स्थानीयवासीको आरोप छ । जोरायल गाउँपालिकाको पहलमा उक्त तालमा एक डुंगाको व्यवस्था गरिए पनि डुंगा चलाउने व्यक्ति नभएका कारण डुंगा चलाउनसमेत कठिनाइ भइरहेको छतिवनका स्थानीय रोहित बोहराले बताए ।
उनले भने, ‘गाउँपालिकाले पर्यटक भित्र्याउने भन्दै डुंगाको व्यवस्था गरेको छ तर डुंगा चलाउने मान्छे छैन, चलाउने मान्छे नहुँदा बोट थन्किएको छ ।’ यो ताल सुदूरपश्चिम प्रदेशका आकर्षक गन्तव्यमध्येको एक हो, यसको विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग पटकपटक माग गरेको भए पनि यसको विकासका लागि खासै कसैले पनि ध्यान नदिएको बोहराको भनाइ छ ।
पछिल्लो समय त्यस क्षेत्रका विभिन्न विद्यालय तथा कर्मचारीको वनभोज तथा घुम्नका लागि प्रमुख गन्तव्यका रुपमा विकास हुन थालेको भए पनि स्थानीयवासीले यसको विकासमा चासो देखाएका छैनन् । स्थानीय सामुदायिक वनको बीचमा रहेको यो तालसम्म सडक सञ्जालसमेत जोडिएको छ ।
पहिले जति सुन्दर ताल देखिन्थ्यो, अहिले विस्तारै संरक्षणको अभावमा संकटमा पर्दै गएको र पहिले तालमा धेरै पानी जमेको देख्न पाइन्थ्यो भने अहिले विस्तारै तालको मोह घट्दै जान थालेको स्थानीयवासी तथा एमाले नेतृ शान्ति चुनाराले बताईन् ।
उनले भनिन्, “पहिले ताल ठूलो थियो, पानी जमेको राम्रो देखिन्थ्यो, अहिले विस्तारै पुरिँदै छ र तालको आकार पनि घट्दै जान थालेको छ ।” उक्त ताल संरक्षण र व्यवस्थित गर्नमा स्थानीय सरकारको खासै ध्यान नगएको भन्दै उनले चिन्तासमेत व्यक्त गरिन ।
जिल्लामा रहेका अन्य दर्जनौँ बढी मुस्ताल, देउताल, खर्गताल लगायतका अन्य विभिन्न तालको अस्तित्व पनि संकटमा परेको स्थानीयवासीको भनाइ छ । तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेकाले तालको अस्तित्व गुम्दै गएको प्रति स्थानीयवासीको गुनासो छ ।
संरक्षण अभावमा तालमा जंगली झारपात र बुट्यानले ढाक्दै गएको पाइएको छ । घरेलु चौपाया र जंगली जनावरले फोहर गर्दा यहाँका तालको सौन्दर्य विस्तारै घट्दै गएको छ ।
जिल्लालाई आर्थिकरुपमा माथि उकासी राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय स्रोतको प्रयोग जरुरी भए पनि डोटीमा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लावासी निराश भएका छन् ।
जिल्लाका यी ताल अहिले वन्यजन्तुका लागि पानी पिउने र चराचुरुंगीको बासस्थानको रुपमा प्रयोग भएको पाइएको छ । यहाँका तालले प्राकृतिक स्वरुप गुमाउँदै गएपछि चराचुरुंगीको बासस्थान पनि संकटमा परेको स्थानीयवासीको भनाइ छ ।