logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • तनहुँ २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

    तनहुँ २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

    455
    Shares
    तनहुँ २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

    तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो ।

    डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

    जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ । आँबुखैरेनी, घिरीङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
    समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उनले बताए ।

    उनका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका छ÷छ वटा सामुदायिक वनमा डढेलो लागेको थियो । यसैगरी ऋषिङ गाउँपालिकामा चार वटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा दुई÷दुई र

    शुक्लागण्डकीको एक सामुदायिक वनमा आगलागी भएको थियो । भौगोलिक विकटताका कारण आगलागीका घटनापछि नियन्त्रणमा लिन कठिनाइ हुने गरेको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वनका कर्मचारी तथा उपभोक्ताको सक्रियतामा आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

    आगलागीबाट वन जोगाउन सचेतनामूलक कार्यक्रमलाई व्यापकरुपमा प्रचारप्रसार गरिएको छ । माइकिङका साथै सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ । डिभिजन वन मातहतमा अग्नि नियन्त्रण कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

    वनमा डढेलो लागेको सूचना आउनेबित्तिकै टोली परिचालन गर्ने गरिएको डिभिजन वनका अर्का वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । ठूलो परिणाममा आगलागी र जोखिम हुने देखिएमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँग समन्वय गरी आगो नियन्त्रणको प्रयास गरिएको छ ।

    तनहुँमा सामुदायिक वन छ सय २४, कबुलियती वन चार सय ८५ र धार्मिक वन ११ वटा रहेका छन् । खडेरी मौसम रहिरहे जेठ महिनासम्म आगलागीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बन अधिकृत पण्डितले बताए ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend