logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कतार रोजगारीको गन्तव्य मात्र हैन,नेपालबाट पानी निर्यातको ठूलो अवसर !

    कतार रोजगारीको गन्तव्य मात्र हैन,नेपालबाट पानी निर्यातको ठूलो अवसर !

    1.1K
    Shares
    कतार रोजगारीको गन्तव्य मात्र हैन,नेपालबाट पानी निर्यातको ठूलो अवसर !

    काठमाडौं । पेट्रोलियम बेचेर धनी भएको मध्यपूर्वको सानो मुलुक कतारमा नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना देखिएको छ । वैदेशिक रोजगारीका लागि कतार प्रमुख गन्तव्य हो । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलमा कतार पनि मुख्य गन्तव्य हुनसक्ने देखिएको छ ।

    जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको छ । कतारलगायतका खाडीमुलुक पनि पानीको सङ्कटग्रस्त क्षेत्र मानिन्छ । कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने संभावना छ ।

    एक प्रतिवेदनअनुसार कतारमा वार्षिक ४ करोड डलरभन्दा बढी बोतलको पानीको व्यवसाय छ । यो प्रत्येक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपालले हिमालको पानी सिधै कतारमा पुरयाएर आम्दानी गर्न सक्ने छ । नेपालबाट पनि बोतल बन्द पानी कतारमा निर्यात गर्न सके त्यसबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।

    लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आएका छन् । कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिने उनको बुझाइ छ ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैतसम्म विश्वका दुई वटा मुलुकमा नेपालको पानी निर्यात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा १५ लाख रुपैयाँ बराबरको पानी भारत निर्यात भएको छ । २० लाख ९० हजार बराबरको पानी जापान निर्यात भएको छ ।

    भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी कतार निर्यात गरेको थियो । जसबाट नेपालले २५ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको थियो । त्यसपछिका वर्षमा कतारमा पानी निर्यात हुन सकेको छैन । अब त्यसलाई निरन्तरता दिन सके कतार पानी निर्यातको राम्रो गन्तव्य बन्न सक्ने देखिएको छ ।

    केन्द्रकाअनुसार अघिल्लो वर्ष जर्मनी, जापान, भारत, अष्टे«लियामा खानेपानी निर्यात भएको थियो । केन्द्रका शाखा अधिकृत कृष्णराज बज्राचार्यले पानी व्यापार पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको भन्दै पानी निर्यात प्रवद्र्धनलाई जोड दिनुपर्ने बताउछन्।

    खानेपानी मन्त्रालयका सहसचिव माधव अधिकारीले कतारमा खानेपानी निर्यातको राम्रो सम्भावना रहेको बताउछन्। “हाम्रो हिमाली क्षेत्रको स्वच्छ खानेपानीको विज्ञापन गर्नसकेमा कतार पनि पानी निर्यातको राम्रो सम्भावना भएको मुलुक बन्न सक्छ”, उनले भने, “अहिलेसम्म केही निजी क्षेत्रहरुले पिउने पानी निर्यात गर्न थालेका छन् । अब यसलाई अझै व्यापाक प्रचार प्रसार गर्दै कतारलगायतका खाडी मुलुकमा पनि व्यापारको गन्तव्य खोजिनुपर्छ ।”

    लगानी सम्मेलन र कतारी राजाको भ्रमणका अवसरमा नेपालको पानीको निर्यात प्रवद्र्धनका लागि पहल गरिर्नुपर्नेमा उनले जोड दिएका छन्। “अहिले उद्योग विभागले निर्यातका लागि केही काम गरिरहेको छ। अब अन्तरसरकारी निकायबीच समन्वय बढाएर पानी निर्यातको नीतिगत व्यवस्था गर्न जरुरी छ”, अधिकारीले भने, “स्वदेशी पानी विश्वबजारमा बेच्नसकेमा स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन हुने र मुलुकको आर्थिक समृद्धि सम्भव छ ।”

    कतार वातावरण तथा ऊर्जा अनुसन्धान संस्थानले गरेको एक सर्वेक्षणअनुसार कतारको ३० प्रतिशत जनसङ्ख्याले मात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ । खानेपानीको बढ्दो मागबीच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो जनसङ्ख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतनालगायतका कारण त्यहाँका जनता धाराको पानीको साटो ‘मिनिरल वाटर’को खपत बढेको अध्ययनले देखाएको छ ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले पनि लगानी सम्मेलनको पूर्वसन्धामा कतारी राजा नेपाल भ्रमणमा आएको मौकामा खानेपानी निर्यातका लागि पहल गरेमा मुलुकको अर्थतन्त्र सुधार हुने बताउछन् । “कतारको समृद्धिका लागि हाम्रा नेपाली कामदारहरुले गर्नुभएको योगदान महत्वपूर्ण छ”, उनले भने, “अब कतारले पनि हाम्रो मुलुकको समृद्धिका लागि खानेपानीलगायत स्वदेशी वस्तु आयात गरिदिन कतारलाई आग्रह गर्नुपर्छ ।”

    नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, अमेरिका, फ्रान्स, अष्टे«लिया, इण्डोनेसिया, अर्जेन्टिना, थाल्याण्ड, संयुक्त अधिराज्य, साउदी अरेयिबा र ओमान प्रमुखरुपमा रहेको उद्योग मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/८१ प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटामा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई कूल व्यापारघाटा ९ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको मन्त्रालयको तथ्याङ्क छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend