logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • भारतमा हुने निर्वाचनका कारण आजदेखि नेपालका पूर्वी सीमानाका बन्द

    भारतमा हुने निर्वाचनका कारण आजदेखि नेपालका पूर्वी सीमानाका बन्द

    819
    Shares
    भारतमा हुने निर्वाचनका कारण आजदेखि नेपालका पूर्वी सीमानाका बन्द

    झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् ।

    बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् ।

    भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बंगालको दार्जीलिङ र विहारको किसनगञ्ज जिल्लामा यही बवैशाख १४ गते एकैदिन हुँदैछ । भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन् । उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए ।

    उनले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिए । खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने विगतदेखिकै प्रचलन रहेको प्रजिअ बाँस्तोलाले बताए ।

    नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमानाका बन्द गर्ने गरेको उनले बताए । चुनाव लक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन् । भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ ।

    उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको पश्चिम बंगालको दार्जीलिङ, रायगञ्ज र बलुरघाट निर्वाचन क्षेत्रमा वैशाख १४ गते मतदान हुनेछ ।

    सोही दिन विहार प्रान्तको किसनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर र बांका निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend