बीबीसी । स्पेनले गोल्डन भिसा योजना खारेज गर्दैछ। उक्त योजनामा युरोपेली सङ्घ बाहिरका नागरिकहरूलाई ठूलो वित्तीय लगानी ल्याएबापत द्रुत गतिमा आवास सुविधा प्रदान गरिन्छ। उक्त योजनाबाट पछाडि हट्ने देशको सङ्ख्या वृद्धि भइरहँदा स्पेनले पनि यसो गर्न लागेको हो।
प्रधानमन्त्री पेड्रो सान्चेजले यो कदम घरजग्गामा लगानी केवल व्यापारिक अनुमानको विषय नभई यो गर्नु ठिक हो भन्ने सुनिश्चित गर्नू लक्षित रहेको बताए।
उनले घर बजार थेग्नै नसक्ने दबावमा भएको र माग भएका ठाउँमा बस्ने र काम गर्ने मानिसलाई किन्न सकिने घर भेट्न नै असम्भव हुँदै गएको बताएका छन् ।
आफ्नो देशमा अर्थतन्त्र जोखिममा रहेका वा त्यहाँको राजनीतिक, सामाजिक कारणले त्यहाँ छोडेर नयाँ देशमा जीवन सुरु गर्न चाहने धेरै लगानीकर्ताले गोल्डन भिसाको योजनालाई एउटा अवसरको रूपमा हेरेका थिए।
तर, भ्रष्टाचार विरोधी अभियानकर्मी र राजनीतिज्ञहरूले यसमा हुन सक्ने अपराधबारे चेतावनी दिएका थिए। लगानीकर्ताले आफ्नो स्वार्थका लागि प्रणालीको दुरुपयोग गर्ने र यसले घरजग्गा कारोबारको मूल्य वृद्धि हुँदा स्थानीय बासिन्दाका लागि निकै महँगो हुने भन्दै उनीहरूले चेतावनी दिएका हुन्।
गोल्डन भिसा के हो ?
गोल्डन भिसा योजनाले धनी विदेशीहरूलाई ठूलो लगानीको बदला अर्को देशमा बस्न र काम गर्न अधिकार दिन्छ।
गोल्डन भिसा पाउन पानामामा घरजग्गामा १ लाख डलर लगानी गर्नेदेखि लक्जमबर्गमा स्थापित वित्तीय संस्थामा २ करोड १४ लाख डलरसम्म जम्मा गर्नुपर्ने व्यवस्था छ।
गोल्डन पासपोर्टू योजनाहरू पनि छन्, जसमार्फत् धनी व्यक्तिहरूले सो देशका नागरिकसरह सबै अधिकार र स्वतन्त्रता हासिल गर्छन्। त्यसमा काम गर्नेदेखि मताधिकारसम्मको अधिकार पर्छ।
द गोल्डन पासपोर्ट : ग्लोबल मोबिलिटी फर मिलेनिअर्स नामक पुस्तकका लेखक तथा लन्डन स्कुल अफ इकोनोमिक्सस्थित राजनीतिक समाजशास्त्रका सहप्राध्यापक डाक्टर क्रिस्टिन सुरकले करिब ६० वटा देशहरूले गोल्डन भिसा प्रस्ताव गर्ने गरेको बताइन्।
करिब २० वटा देशहरूले लगानी गरेबापत नागरिकता पाउने कानुनी प्रावधान राखेका छन् भने त्यसमध्ये १० वटा देशहरूमा प्रत्येक वर्ष १०० भन्दा बढी निवेदन पर्ने उनले बताइन्।
सबैभन्दा धेरै नागरिकता दिने देश टर्की भएको डाक्टर सुरकले बीबीसीसँग भनिन्।
उनको अध्ययन अनुसार वर्षभरिमा गोल्डन पासपोर्ट योजना अन्तर्गत नागरिकता बिक्री हुनेमा आधा निवेदकहरू टर्कीका लागि निवेदन भर्नेहरू छन्।
उनले लगानी कार्यक्रमबाट चर्चित गन्तव्यहरू मलेसिया र संयुक्त अरब एमिरेट्समा आवास प्रस्ताव गर्ने गरिएको बताइन्।
गोल्डन पासपोर्ट जारी गर्नेहरूमा सेन्ट किट्स, डोमिनिका, भानुआटु, ग्रनेडा, एन्टिग र माल्टा रहेका छन्।
गोल्डन भिसा चाहनेहरूको रोजाइमा युरोपेली सङ्घ पर्छ किनभने सदस्य राष्ट्रमा काम र बस्ने अधिकार पाउँदा त्यसले सेन्जेन क्षेत्रका सबै देशमा भिसा बिना नै यात्रा गर्न अनुमति दिन्छ।
सन् २०२० मा युरोपेली सङ्घका १४ वटा देशहरूले गोल्डन भिसा प्रस्ताव गरेका थिए।
यो क्षेत्रमा स्वीकृति दिने देशमा ग्रीस, लाट्भिया, पोर्चुगल र स्पेनले ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए। तर यी धेरै देशहरूले उक्त योजनामाथि प्रतिबन्ध लगाएका छन्।
सन् २०२२ मा यूके सरकारले आफ्नो देशमा सम्पत्ति जोड्ने धनी विदेशी नागरिकका लागि बस्न पाउने उक्त योजना अन्त्य गरेको थियो।
त्यसको पछिल्लो वर्ष आयरल्यान्डले पनि गोल्डन भिसा खारेज गर्यो।
पोर्चुगलले भने आफ्नो नियम संशोधन गर्यो र सम्पत्ति जोड्न आवास दिनुको सट्टा पैसा पठाएर र अनुसन्धानका काममा लगानी गर्ने अभ्यास जारी राख्यो।
यसको माग किन बढी ?
गोल्डन भिसा राम्रो व्यापारिक अवसर, जीवनशैली, शिक्षा र स्वास्थ्य सेवा खोज्ने धनी व्यक्तिहरूमाझ गोल्डन भिसा र गोल्डन पासपोर्ट चर्चित छ।
अहिलेको विश्वमा सबै कुरा अनिश्चित हुँदा अर्को देशमा बस्ने अनुमति वा पासपोर्टको आवश्यकता अहिलेजस्तो बलियो रूपमा कहिल्यै देखा नपरेको बेलायतमा रहेको कम्पनी ला भिदा गोल्डन भिसा कि बजार व्यवस्थापक लिजी एड्वार्डले गत वर्ष बीबीसी टर्किशसँगको अन्तर्वार्तामा भनेकी थिइन्।
लगानीकर्ताहरूलाई आकर्षित गर्ने विषय फरक फरक हुन्छन् तर खास कारण भने सुरक्षा, भिसा बिनाकै यात्रा विस्तार र शिक्षा र व्यवसाय सम्भावनाजस्ता विश्वव्यापी अवसरहरू विस्तार हुने गर्छ।
नियमन खासगरी गन्तव्य र कस्तो खालको लगानी भन्नेमा भर पर्छ। उदाहरणका लागि, टर्कीले ४ लाख डलर बराबर वा त्योभन्दा बढीको घरजग्गा खरिद गर्ने विदेशीलाई गोल्डन भिसा प्रस्ताव गर्छ।
लक्जमबर्गले भने गोल्डन भिसाका लागि विभिन्न प्रस्ताव गर्ने गर्छ। विद्यमान कम्पनीमा कम्तीमा ५ लाख ३६ हजार डलरदेखि २ करोड १४ लाख डलर वित्तीय संस्थामा जम्मा गर्ने सम्मका विकल्प उसले दिएको छ।
अन्य देशहरूले भने अनुसन्धान र विकासका गतिविधिमा दान वा लगानी स्वीकार गर्ने गर्छन्।
सरकारका लागि यी योजनाहरू सञ्चालनका लागि सबैभन्दा महत्त्वपूर्ण प्रेरणा भनेको देशमा पुँजी भित्र्याउनु र अर्थतन्त्र उकास्नु हो।
डाक्टर क्रिस्टिन सुरक र युसुके सुजुकीको जर्नल अफ इथ्निक एन्ड माइग्रेसन अध्ययनमा प्रकाशित अनुसन्धानका अनुसार सन् २०१३ देखि सन् २०१९ सम्ममा पोर्चुगलमा १४.४ प्रतिशत रकम प्रत्यक्ष वैदेशिक लगानी गोल्डन भिसा योजनामार्फत भित्रिएको थियो। उक्त प्रतिशत लाट्भियामा १२.२ र ग्रीसमा ७ रहेको थियो।
अभियानकर्मीहरूले भने यी योजनाहरूमा मुख्य गरी दुई वटा चिन्ता व्यक्त गरेका छन् : भ्रष्टाचार र स्थानीय बासिन्दामा घरको सङ्कट बढाउनु।
१ सय भन्दा बढी देशमा भ्रष्टाचारविरुद्ध काम गर्ने एउटा विश्वव्यापी गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनले ईयूका यी योजनाहरू वास्तविक लगानी वा आप्रवासन होइन बरु भ्रष्ट ब्याज लगायत लुकाउने माध्यमू भन्दै चेतावनी दिएको छ।
‘गोल्डन भिसा वा पासपोर्टका लागि आवेदन दिएर भ्रष्टाचार वा फर्जी योजनामा संलग्न भएको अघि वा पछि अधिकारीहरूबाट सास्ती भागेका मानिसहरूको विवरण सार्वजनिक भएका छन्,’ उनले बीबीसीसँग भनिन्।
युरोपेली सङ्घका कैयौँ निकायहरूले पनि यसबारे भएका आलोचनाहरूको कुरा उठाउँदै आएका छन्।
सन् २०२२ मा ईयू कमिटी अन सिभिल लिबर्टिज, जस्टिस एन्ड होम अफेयर्सले गोल्डन पासपोर्टमा प्रतिबन्ध लगाउन मतदान गरेको थियो र ईयूमा भिसा बिना नै अनुमति भएका तेस्रो देशलाई आफ्नो गोल्डन पासपोर्ट योजना अन्त्य गर्न भनेको थियो।
डाक्टर क्रिस्टिन सुरकले सम्पत्ति शुद्धीकरणका लागि यी योजनाहरूले सम्भव भए पनि, अन्य सहज र सस्तो विकल्प पनि रहेको बताएकी छन्।
विद्यार्थी भिसाबाट पनि तपाईँ यही गर्न सक्नुहुन्छ, सायद यो धेरै सस्तो हुन्छ। बिजनेस भिसा पनि त्यस्तै हो। यी कार्यक्रमहरूका लागि यो नौलो चिन्ताको विषय होइन।
सङ्गठित अपराध र भ्रष्टाचार रिपोर्टिङ प्रोजेक्टबारे सन् २०२३ को अक्टोबरमा प्रकाशित एउटा अनुसन्धानले यी योजनाहरूमार्फत् युद्ध अपराधका आरोपी लिबियाका पूर्व कर्णेल र टर्कीमा कैद सजाय पाएका त्यहाँका व्यापारीले डोमिनिकको पासपोर्ट किन्न सकेको खुलासा गरेको छ।
सन् २०२३ मा, बेलायतमा गृह मन्त्रालयले गरेको गोल्डन भिसाको समीक्षामा ूभ्रष्टाचार र सङ्गठित अपराधमा जोडिएका र थोरै सङ्ख्याका विदेशी लगानीकर्ताहरू उच्च खतराको सम्भावनामाू रहेको पत्ता लगाएको थियो।
अभियानकर्मीहरूले देखाएको दोस्रो ठूलो चिन्ता भनेको घरको उच्च मूल्य हो।
धेरै देशहरूले लगानीको विभिन्न विकल्प दिए पनि धेरै निवेदकहरू भने घरजग्गा कारोबार नै गर्न खोज्छन् किनभने सम्पत्तिको मूल्य बढिरहन्छ।
तर डाक्टर क्रिस्टिन सुरकको अनुसन्धानले धेरै देशमा यसको कम असर रहेको देखाएको छ।
उदाहरणका लागि, स्पेनले वर्षमा २ हजार निवेदनहरू स्वीकार गर्छ। उनका अनुसार ४ करोड ८० लाख जनसङ्ख्या रहेको देशमा २ हजार घरजग्गा कारोबार भनेको नगण्य हो।
तर घरजग्गाको खरिद केही निश्चित नगरी र विदेशीहरूमाझ चर्चित क्षेत्र वरपर हुँदा त्यसले धेरै असर गर्छ।
टर्कीको दक्षिणी तटीय सहर आन्टाल्या त्यस्तै एउटा सहर हो।
परम्परागत रूपमा रुसी र युक्रेनी पर्यटकहरूमाझ चर्चित उक्त सहर युक्रेनमा युद्धयता अहिले शरण लिनेका लागि स्थायी ठाउँ भएको छ।
घरजग्गा कारोबारका लागि माग उच्च भएपछि मूल्य असाध्यै बढेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन्।