logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काठमाडौँ महानगरको आयोजनामा आजदेखि सीप मेला, २०८१ जनालाई निःशुल्क ‘सिपमूलक तालिम’

    काठमाडौँ महानगरको आयोजनामा आजदेखि सीप मेला, २०८१ जनालाई निःशुल्क ‘सिपमूलक तालिम’

    559
    Shares
    काठमाडौँ महानगरको आयोजनामा आजदेखि सीप मेला, २०८१ जनालाई निःशुल्क ‘सिपमूलक तालिम’

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेलमा ‘सिप मेला’ आयोजना गर्दैछ । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउन, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।

    १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउन लागेको हो । यसरी तालिम पाएका सबै व्यक्तिलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब टे«निङ्) सुनिश्चित गर्ने महानगको भनाई छ ।

    रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर सञ्चालन हुने तालिम, नतिजाका लागि उत्कृष्ट सहकार्यको नमूना कार्यक्रम हुने महानगरको दाबी छ ।

    बजारमा सिपयुक्त जनशक्तिको ठूलो माग र आपूर्तिका बिचमा ठूलो खाडल छ । एकातिर रोजगारदाताको सिपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवाहरुमा योग्यताअनुसारको रोजगार नपाएको गुनासो छ । रोजगार क्षेत्रमा देखिएको यो खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सिप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यववसायिक तालिमको आवश्यकता महसुस गरेर ‘सिप मेला’ कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ ।

    यसले सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा रहेको व्यक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउने साथै विगतमा गैरकानुनी रुपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सिपमूलक तालिममा सहभागी हुने अपेक्षा महानगरले गरेको छ ।

    सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन् ।

    ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । महानगरका अनुसार यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो ।

    सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।

    सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् ।

    दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर÷वेट्रेस प्रशिक्षण हुनेछ ।

    सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषय राखिएका छन् ।

    मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् ।

    सातौँ क्षेत्र गार्मेन्ट्स हो । यसमा टेलरिङ्÷ड्रेस मेकर र फेसन डिजाइनिङ्को कक्षा हुनेछ । आठौँ क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो । यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ ।

    नवौँ क्षेत्र डिजाइनिङ् हो । यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ । दशौँ विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ ।

    तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहने छन् । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend