logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • हुण्डीको आरोपमा पक्राउ परेका पीयूष खेतानसँग १० करोड ‘अवैध’ कारोबार

    हुण्डीको आरोपमा पक्राउ परेका पीयूष खेतानसँग १० करोड ‘अवैध’ कारोबार

    1.2K
    Shares
    हुण्डीको आरोपमा पक्राउ परेका पीयूष खेतानसँग १० करोड ‘अवैध’ कारोबार

    काठमाडौं । हुण्डी कारोबार आरोपमा ९ लाख रुपैयाँसहित पक्राउ परेका एक युवकमाथि थप अनुसन्धान गर्दा १० करोडको ‘अवैध’ रकम खुलेको छ । काठमाडौं महानगरपालिका–१३ ताहचल बस्दै आएका पीयूष खेतानलाई उनकै पसलबाट प्रहरीले पक्राउ गरेको थियो । रन्जना कम्प्लेक्सको तेस्रो तलामा फेसन पेसन स्टोर सञ्चालन गर्दै आएका खेतान ९ लाख रुपैयाँसहित पक्राउ परेका थिए ।

    २४ वर्षीय खेतानलाई पक्राउ गरेर अनुसन्धान गर्दा पछिल्लो एक वर्षमा मात्रै उनले १० करोडको ‘अवैध’ कारोबार गरेको देखिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हुण्डी कारोबार गरेको सूचनाका आधारमा यही वैशाख ३ गते स्थायी ठेगाना धनुषाको धनुषाधाम गाउँपालिका–५ घर भएका २३ वर्षीय खेतानलाई पक्राउ गरेको थियो ।

    उक्त रकमका साथै २३ पन्ना क्रिप्टो करेन्सीको विवरणसमेत प्रहरीले फेला पारेको थियो भने मोबाइल समेत बरामद गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा १० करोड रुपैयाँको अवैध कारोबार भएको खुलेको हो ।

    अध्ययनका लागि एक वर्षअघि भारतमा रहँदा क्रिप्टो करेन्सीबारे जानकारी पाएर कारोबार सुरु गरेको खेतानले बताएका छन् । बिनान्स एप्लीकेशन डाउनलोड गरेर क्रिप्टो करेन्सीको कारोबार खेतानले गरेको देखिएको अनुसन्धान अधिकृतले बताएका छन् ।

    भारतमा रहँदा बिक्की महतो भन्ने साथीले आफूलाई क्रिप्टो करेन्सीबारे सिकाएको उनको दाबी छ । पछिल्लो एक वर्षदेखि नेपाल र भारतमा रकम आवश्यक पर्ने मानिसहरुलाई रकम दिने–लिने काम समेत गरेको उनको भनाइ छ । अनुसन्धानबाट खेतानले हुण्डीको कारोबार गर्ने गरेको क्रिप्टोमार्फत हुण्डीको रकम विदेश पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा पठाइएको प्रतिवेदन अनुसार हुण्डीको रकम लिन–दिनका लागि विभिन्न कोडहरु प्रयोग गरेर खेतानले काम गरेको समेत उल्लेख छ । ह्वाट्स एपमा विभिन्न रकमका फोटाहरु आदान प्रदान गर्ने र भारतमा रहेका बिक्कीले भनेअनुसारका मानिसहरुलाई रकम दिने–लिने गरेको खुलेको अभियोगपत्रमा उल्लेख छ ।

    हुण्डीका लागि रकम लिँदा–दिँदा भेरिफाई गर्न रकमका नोटहरु प्रयोग गरिएको खुलेको छ । खेतानले बिनान्स एप्लीकेशनमार्फत क्रिप्टो करेन्सीमार्फत ६ करोड १९ लाख ३५ हजार रुपैयाँ कारोबार गरेको देखिएको छ ।

    अर्को ओकेएक्स एप्लिकेशनसमेत इन्सटल गरेर क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको छ । यो एप्लिकेशनमार्फत ४ करोड २१ लाख ४३ हजार रुपैयाँ कारोबार गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

    उनले क्रिप्टोमार्फत नै एक वर्षको अवधिमा १० करोड ४० लाख ७८ हजार रुपैयाँ कारोबार गरेको देखिएको छ । क्रिप्टोको अवैध कारोबार देखिएपछि उनलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २६२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ ।

    उक्त दफा अनुसार रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने उल्लेख छ । प्रतिबन्ध लगाइएको मुद्रा चलन चल्तीमा ल्याइएमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend