logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन धौ धौ, प्रदेशसभाको बैठक बस्दै

    सुदूरपश्चिम मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन धौ धौ, प्रदेशसभाको बैठक बस्दै

    2.4K
    Shares
    सुदूरपश्चिम मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन धौ धौ, प्रदेशसभाको बैठक बस्दै

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत लिन धौ धौ परेको छ । यसैबीच सुदूरपश्चिम प्रदेशसभाकोे बैठक आज साँझ ५ बजेका लागि बोलाईएको छ ।

    मुख्यमन्त्री सोडरीले हिजो शुक्रबार विश्वासको मत लिने भनिएपनि गठबन्धनभित्र सहमति नभएपछि स्थगित भएको थियो । आजको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यक्रम तय भएको जनाइएको छ ।

    साँझ बैठक बस्नु अघि गठबन्धन दलका नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन निकै मुस्किल पर्ने अवस्था देखिएको जानकारहरु बताउछन । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहँदा गठबन्धन दल नेकपा (एमाले) ले भने अझै अनिर्णित छ ।

    एमालेले सोडारीलाई विश्वासको मतका लागि नहतारिन भनेको स्रोतले बतायो । सोडारीलाई मुख्यमन्त्री बनाउन सुरुवाती दिनमै नेकपा (एमाले) ले चाहेको थिएन । तर गठबन्धन नै धरापमा पर्ने भएपछि एमाले बाध्य भएको स्रोतको दाबी छ । स्रोतका अनुसार अहिले पनि सकेसम्म सोडारीलाई हटाएर गठबन्धन कसरी टिकाउन सकिन्छ भन्ने छलफलमा एमाले रहेको छ ।

    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको विश्वासको मतलगायतका विषयमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको दाबी गरिएको छ । उता सुदूरपश्चिमका एमाले नेताहरु विश्वासको मत दिने गरी केन्द्रबाट कुनै निर्णय र निर्देशन नआएको बताउँछन् ।

    एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागि परेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको बताउँदै आएका छन् ।

    यसैगरी नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी पक्षका पाँच प्रदेशसभा सदस्यले पनि विश्वासको मत नदिने भएका छन् । रन्जिता श्रेष्ठ पक्षका दुई जनाले भने विश्वासको मत दिने तयारीमा रहेका बताइएको छ । उनीहरु दुबै जना प्रदेश सरकारमा सहभागी छन् ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी), रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर एमालेले अहिले सम्म विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको भने छैन ।

    यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाँकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ । बझाङ बाट निर्वाचित दमन भण्डारीले पनि अझै शपथ लिएका छैनन् । एमालेले उनको सपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताएको छ ।

    विपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने बताउदै आएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय नै गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend