logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्यान भन्छ : हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ

    क्यान भन्छ : हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ

    1.1K
    Shares
    क्यान भन्छ : हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ

    काठमाडौं । १० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एक समारोहका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका विदाई गरेको हो ।

    उनीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिद्का उपाध्यक्ष शिव कोईराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले विदाई गरेका हुन् ।

    नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रुपमा आयोजना हुने आइसिसी‌ ट्वान्टी–२० विश्वकप खेल्दैछ । नेपालले सन् २०१४ पछि विश्वकप खेल्न लागेको हो । विदाई कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउने उल्लेख गर्दै घृणा र तृष्णाको फोहोर राजनीतिबाट पर राख्ने बताए । उनले राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका लागि समेत खेलाडीहरुले संघर्ष गर्नु परिरहेको बताए ।

    उनले भने, ‘खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याएको छ । एक ठाउँमा उभिएको छ । सरकारका तर्फबाट तपाईंहरुले पाउनुपर्ने कयाँै कुरा पाउनुभएको छैन । एउटा राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका कुरा, आफूले पाएको र सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गर्न समेत संघर्ष गर्नुपरेको अवस्थामा यो तपाईंहरुको बलले नै गर्नुभएको छ ।’

    सन् २०१४ को विश्वकप हेरेर नै हामी उत्प्रेरित हुँदै क्रिकेटमा आएको उल्लेख गर्दै कप्तान रोहितकुमार पौडेलले अब नयाँ पुस्तालाई उत्प्रेरित गर्ने जिम्मेरवारी आफ्नो टोलीमा रहेको बताए । उनले यहाँसम्म पुग्न साथ सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद दिए ।

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति संशोधन गर्न मन्त्रालयले काम गरिरहेको बताए । सदस्यसचिव टंकलाल घिसिङले प्रतिवन्ध, नेपाली खेलकुदको अस्थिरता र महामारीका कारण नेपाली क्रिकेटले पुनः विश्वकपमा पुग्न दशक लागेको उल्लेख गर्दै यो सफलता दोहार्याउन कडा मिहेनत गर्ने खेलाडीलाई धन्यवाद दिए । उनले निरन्तर विश्व कप खेल्ने र एक दिन विश्वकप जित्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे ।

    सदस्यसचिव घिसिङले आगामी विश्व कपमा नेपाली टोलीको साथमा १२ औं खेलाडीको रूपमा सिंगो तीन करोड जनता नै रहने उल्लेख गर्दै उच्च आत्मबलका खेल्ने शुभकामना दिए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले दश वर्ष अगाडि नै विश्वकप खेलेको उल्लेख गर्दै यस पटक नयाँ इतिहास रच्न नेपाली टोली जान लागेको बताए ।

    क्यानका सचिव पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टिमले एउटा म्याच हार्दा सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आउने गरेको भन्दै हरेक पटक नै नयाँनयाँ टिम फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । उनले नेपाली क्रिकेटका लागि यो राम्रो रहेको पनि बताए । सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । वेस्ट इण्डिज एका कप्तान रोस्टन चेजले विश्वकप खेल्न जाने नेपाली टोलीलाई शुभकामना दिँदै आगामी दिनमा पनि आफ्नो टोली नेपाल आउन आतुर रहेको विश्वास व्यक्त गरे । नेपाली टोली आज राति नै अमेरिका प्रस्थान गर्नेछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend