logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • उद्योग वाणिज्य महासंघका अध्यक्षलाई ‘मायाको चिनो’ डालीमा मकै

    उद्योग वाणिज्य महासंघका अध्यक्षलाई ‘मायाको चिनो’ डालीमा मकै

    676
    Shares
    उद्योग वाणिज्य महासंघका अध्यक्षलाई ‘मायाको चिनो’ डालीमा मकै

    बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली । डालीभरि भुटेको सिरिम्ले मकै । मकै पनि जिल्लाको ताराखोलाका ।
    शनिबार यहाँ आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएका बागलुङका रैथाने उत्पादन हुन् यी ।

    स्थानीय उत्पादनको प्रवद्धन हेतु बागलुङ उद्योग वाणिज्य संघले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रुपमा अतिथिलाई डाली र मकै प्रदान गरेको हो । संघको ६० औँ वार्षिक साधारणसभा समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत अतिथिले खुसी र श्रद्धापूर्वक बागलुङको स्थानीय उत्पादनलाई उपहारका रुपमा ग्रहण गरे ।

    मायाको चिनोमा आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा संघले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिएको हो । त्यस क्रममा प्रमुख अतिथि ढकालले संघले स्थानीय उत्पादनलाई प्राथमिकता दिएकामा प्रशन्नता व्यक्त गरे । “अतिथिलाई उपहारका रुपमा डाली र मकै दिनुभयो, खाजा पनि सेलरोटी र घरेलु अचार खुवाउनुभयो, यो निकै नै सराहनीय छ”, उनले भने, “यसले कृषि उपजका माध्यमबाट स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।”

    उनले परम्परागत सीप र प्रविधिमा आधारित वस्तुको बजारीकरण गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने धारणा राखे । अध्यक्ष ढकालले पछिल्लो समय ठूला मेला, महोत्सव र समारोहमा पुग्ने अतिथिहरुलाई स्थानीय उत्पादन उपहारका रुपमा दिने प्रचलन बढेको बताए । “हामीकहाँ भएको मकै, भटमास, आलु, सिन्कीलगायतको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिनु जरुरी छ”, उनले भने ।

    अध्यक्ष ढकालले आफू देशका विभिन्न भूभागमा पुग्दा स्थानीय उत्पादनलाई जोड दिन आग्रह गर्ने गरेको सुनाउँदै गृहजिल्ला बागलुङले त्यसप्रति देखाएको जागरुकता प्रशंसनीय रहेको बताए । “यसले जिल्लाको पहिचान पनि दिलाउँछ, स्थानीय उत्पादनप्रति सर्वसाधारणको चासो बढ्दै जान्छ”, उनले भने ।

    संघका अध्यक्ष नरेश कँडेलले स्थानीय उत्पादनको प्रवद्र्धन होस् भनेर अतिथि उपहारका लागि डाली र मकै छानिएको बताए । उनका अनुसार जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादित मकै उपहारका रुपमा अतिथिहरुलाई प्रदान गरिएको हो । ताराखोलालगायत यहाँका लेकाली भेगमा लगाइने रैथाने जातको मकै स्वादिष्ट र पौष्टिक मानिन्छ ।

    यहाँ आउने पाहुँनाले पछिल्लो समय ताराखोलाकै मकै र आलु अनि भाँगो र सिस्नोको धुलो खोज्ने गरेका छन् । यस्तै निगालोको चोयाबाट बन्ने डोका, डालाडाली, नाङ्ला आदिका लागि पनि ताराखोला, बडिगाडको जलजलालगायत उपल्लो ग्रामीण भेग बढी चिनिन्छन् ।

    चैते दसैँलगायतका अवसरमा हुने मेला, महोत्सवमा ती ठाउँका किसान हप्तौँ दिन लगाएर डालाडाली र नाङ्ला बेच्न सदरमुकाम आइपुग्छन् । अध्यक्ष कँडेलले पछिल्लो समय ताराखोलाको मकै ‘ब्राण्ड’का रुपमा स्थापित भइसकेको बताए । “यहाँको सिरिम्ले मकै विदेशसमेत निर्यात हुँदै आएको छ, भुटेर खाँदा मकै ज्यादै स्वादिलो छ, आटोका रुपमा खाँदा पनि उत्तिकै रुचाइन्छ”, उनले भने, “पछिल्लो समय होटल, रेष्टुराँमा पनि भुटेको मकैको खपत बढ्दो छ ।”

    गत पुसमा सञ्चालित बागलुङ महोत्सवमा पनि ताराखोलाको आलु, मकै, भाँगो, सिस्नोको धुलोलगायत स्थानीय उत्पादनले आकर्षण थपेका थिए । स्थानीय उत्पादनको व्यवसायीकरणका लागिसमेत संघले किसान र व्यवसायीहरुलाई सहयोग गर्दै आएको अध्यक्ष कँडेलको भनाइ छ ।

    साधारणसभाकै अवसरमा काठेखोला गाउँपालिका–८ लेखानीमा कोदोको बिस्कुट उद्योग सञ्चालन गर्नुभएका चानसिँह श्रीसलाई नगदसहित सम्मान गरिएको अध्यक्ष कँडेलले जानकारी दिए । बागलुङ नगरपालिका–१ रामरेखास्थित मनसुन दालमोठ उद्योगका सञ्चालक यमप्रसाद कँडेलले ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, म्याग्दीको गौसरालगायत ठाउँबाट ल्याएको मकै प्रशोधनपछि भुटेर बजार पठाउने गरिएको बताए ।

    “उद्योगमा भुटेर प्याकेजिङ गरिएको मकै काठमाडौँ, भैरहवा, पोखरालगायत सहरमा पनि निर्यात हुँदै आएको छ, बाहिरका व्यापारीमार्फत बागलुङको मकै हङकङ र बेलायतमासमेत पुग्ने गरेको छ”, उनले भने, “विदेशी जाने बागलुङलेहरुले कोशेलीका रुपमा पनि भुटेको मकै लाने चलन छ ।”

    मकैबाट आटो, रोटी, सातुलगायतका परिकार पनि बनाउन सकिने कँडेलले बताए । सञ्चालक कँडेलले जाडो याममा दैनिक पाँच÷छ क्विन्टल भुटेको मकै बजार जाने गरेको बताए । “असोजदेखि चैतसम्म मकैको बिक्री धेरै हुन्छ, कुनै महिनामा त माग धान्नै गाह्रो हुन्छ, बागलुङको भुटेको मकै भनेपछि एककिसिमको ब्राण्ड बनेको छ”, उनले भने, “बाहिरी जिल्लाबाट धेरै माग आउने गरेको छ ।”

    उद्योगले गाउँका किसानबाट सिरिम्ले मकै खरिद गरी भुटेर बजारमा बेच्दै आएको छ । विषादीरहितको रैथाने जात, उर्वरा माटो, लेकाली हावापानी आदि कारणले बागलुङका ग्रामिण भेगमा लगाइएको मकै उपभोक्ताको रोजाइमा पर्ने गरेको हो । बागलुङ बजारस्थित होटल आरतीका सञ्चालक कविता बस्नेतले ताराखोलाको मकै, आलु, भाँगो, च्याउ, सिन्की, गेडागुडीलगायत उत्पादनबाट बनेका परिकार पाहुनालाई चखाउने गरेको सुनाए ।

    “हाम्रो भान्छामा स्थानीय परिकार अनिवार्य पाक्छ, गाउँले खानाको स्वादले पाहुनाको पनि आकर्षण बढेको छ”, उनले भने, “ममः चाउमिनजस्ता खाजाको सट्टा आलु, मकै आदिका परिकार रोज्नेको संख्या बढ्दो छ ।” उनले पछिल्लो समय सहरी क्षेत्रका मानिस पनि परम्परागत खानाका परिकारतर्फ आकर्षित भइरहेको बताए । “अग्र्यानिक उत्पादन भनेपछि ग्राहकले खुसी भएर खान्छन्”, उनले भने ।

    होटल दि राजनका सञ्चालक राजन शाक्यले विशेष गरी ताराखोलाको मकै, आलु र भाँगो ग्राहकको रोजाइमा पर्ने गरेको बताए । “होटलमा आउने पाहुँनाले स्थानीय परिकार बढी रुचाउन थालेका छन्, यहाँको उत्पादन जिल्ला बाहिरपनि निर्यात हुँदै आएको छ”, सञ्चालक शाक्यले भने, “स्थानीय उत्पादनको प्रबद्धन र बजारीकरणका लागि उद्योग वाणिज्य संघलगायत सम्बद्ध निकायले ध्यान दिनु जरुरी छ ।”रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend