logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर नबुझाउने ठूला कम्पनीलाई कर कार्यालयको ‘अल्टिमेटम’, यी हुन् नतिर्ने २५ कम्पनी

    कर नबुझाउने ठूला कम्पनीलाई कर कार्यालयको ‘अल्टिमेटम’, यी हुन् नतिर्ने २५ कम्पनी

    1.7K
    Shares
    कर नबुझाउने ठूला कम्पनीलाई कर कार्यालयको ‘अल्टिमेटम’, यी हुन्  नतिर्ने २५ कम्पनी

    काठमाडौँ । सरकारले कर नतिर्ने ठूला कम्पनीहरुलाई कर बुझाउन ताकेता गरेको छ । सरकारले चालू आर्थिक वर्षमा लिएको राजस्व संकलनको लक्ष्य पुरा नहुने अवस्था आएपछि कर कार्यालयले कर तिर्नका लागि ताकेता गर्न लागेको छ । ठूला करदाता कार्यालयले २५ ठ्रूला कम्पनीलाई आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन ताकेता गरेको छ ।

    कार्यालयले सोमबार एक सूचना जारी गर्दै ती कम्पनीहरुलाई १५ दिनभित्र कर बुझाउन ताकेता गरेको हो । १५ दिन भित्र कर नबुझाए कारबाही अघि बढाउने चेतावनीसमेत ठूला करदाता कार्यालयले दिएको छ । कर नबुझाउनेमा निजीदेखि सरकारी कम्पनी रहेका छन् । कार्यालयका अनुसार १२ वटा कम्पनीले आयकर र १८ वटाले मूल्य अभिवृद्धि कर बुझाएका छैनन् ।

    समयमा कर दाखिला नगर्नेमा सरकार स्वामित्वको कृषि सामाग्री कम्पनी लिमिटेड, उदयपुर सिमेन्ट उद्योग र जनक शिक्षा समाग्री केन्द्र लिमिटेड रहेका छन् । सरकारका तीवटै कम्पनीको वित्तीय अवस्था राम्रो छैन् ।

    यस्तै निजी लगानीको माउण्ट एभरेष्ट ब्रुअरी प्रालि, पेन इन्डिया इन्फ्रा प्रोजेक्टस्, हिमाल आइरन एण्ड स्टिल प्रालि, शुभश्री अग्नी सिमेन्ट उद्योग प्रालि, जयन्ती निर्माण सेवा, गण्डकी विकास बैंक लिमिटेड, सुमेरु बचत तथा ॠण सहकारी संस्थालाई कार्यालयले कर तिर्न ताकेता गरेको हो । गण्डकी विकास बैंक मेगा बैंकमा समाहित भइसकेको छ भने सुमेरु सहकारी समस्याग्रस्त बनेको छ । सानमिगले बियरको लाइसेन्स खोसिएपछि अमात्य ग्रुपको स्वामित्वमा रहेको माउन्ट एभरेष्ट ब्रुअरी अहिले बन्द जस्तै छ । कम्पनी लिलाम गर्न बैंकले सूचनासमेत प्रकाशित गरेको छ ।

    यस्तै, नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज, अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि, सिई कन्स्ट्रक्सन प्रालि, टाइगर्स ब्रुअरी इण्डष्ट्रिज प्रालि, सुबिसु केबलनेट, इष्टर्न एजेन्सीज प्रालि, सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि, कशमस सिमेन्ट इण्डष्ट्रिज प्रालि छन् ।

    त्यसैगरी बतास ब्रदर्श प्रालि, महालक्ष्मी वायर एण्ड केबल इण्डष्ट्रिज प्रालि, विशाल सिमेन्ट इण्डष्ट्रिज प्रालि, ग्रीन हिल सिटी, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रालि, शिव शिखर एग्रो प्रालि, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिलाई ठूला करदाता कार्यालयले कर तिर्न पत्राचार गरेको हो ।

    बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइए पनि वेवास्ता गरेको आरोप कार्यालयको छ । यस्तै कतिपय करदातालाई फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्ता नलागी पत्र बुझाउन नसकेकाले फिर्ता आएको र हालसम्म पनि बक्यौता रकम दाखिला नभएको वा कम दाखिला भएकाले सूचना निकालेको कार्यालयले जनाएको छ।

    तोकिएको अवधिभित्र बक्यौता कर रकम दाखिला वा दाखिला गरिसकेको प्रमाण पेश हुन नआएमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवम् मू अ कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारबाही गरी बक्यौता असुलउपर गरिने चेतावनी दिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend