logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधान सेनापति शर्मा

    देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधान सेनापति शर्मा

    1.2K
    Shares
    देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधान सेनापति शर्मा

    काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका छन् ।

    मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका हुन् ।

    संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको उनले स्पष्ट पारे ।

    उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ति समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका बताए । उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए । उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पारे । त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ति गतिविधिले सुरक्षालाई कुनै असर नपर्याएको उनको भनाई छ ।

    उनले भने – ‘नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतिहरु देखापरेका छन् । यसका साथसाथै कहिलेकाहीँ धार्मिक, सांस्कृतिक एवं जातिय पहिचानको आधारमा सञ्चालन भएका सानातिना घटनाहरु र गतिविधिले गर्दाखेरी हाम्रो नेपाली जनताको एकतामा कतै खलल पुग्छ कि भन्ने परिवेशको आँकलन पनि गरेको छौँ तर अहिलेसम्म हाम्रो एकतामा कुनै असर पुगेको छैन ।’

    ‘विशेषगरी तराई क्षेत्रमा धार्मिक समस्याहरु बेलाबेलामा उठ्ने गर्छ जुन स्थानीय राजनीतिक पार्टीले नै समाधान गर्न सक्षम भएको पाइएको छ । राष्ट्रिय राजनीतिक जहिले पनि तरल रुपमा हुन्छ । त्यो जस्तै देशमा पनि । त्यो कुनै नयाँ कुरो होइन । यसप्रति हामी चनाखो भएर रहेका छौँ भन्न चाहन्छु । ठाउँ ठाउँमा मंगोल नेशनल अर्गनाइजेश र पहिचानवादी साथीभाईहरु कहिलेकाहीँ विचलित हुन खोजेको हो कि ? भन्ने छ । तर राजनीतिक पार्टीहरुले उहाँहरुलाई बेलैमा राम्रोसँग समन्वय र समझदारीपूर्वक राजनीतिक बाटोमै डोहोर्याएको पाइएको छ ।

    राष्ट्रिय रुपमा समस्याको रुपमा देखिएको छैन । धार्मिक गुरुहरुले नचाहिँदो अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा नचाहिँदो कुराहरु प्रविष्ट गर्ने र दुरुपयोग गर्ने र स्थानीय रुपमा एकआपसमा विवाद ल्याउन कोसिस गर्ने । त्यो नै हाम्रो कमजोरी भन्ने बुझिएको छ । राष्ट्रिय एकता कुनैपनि किसिमका यस्ता धार्मिक, सांस्कृतिक क्रियाकलापले खलल पुग्नु हुन्न भन्ने हामी लागेका छौँ । सबैलाई त्यहि नै भन्ने गरेका छौँ । दुर्गा प्रसाईँ नेतृत्वको गतिविधि अहिलेपनि भइरहेको छ तर सुरक्षालाई असर परेको छैन । संघ र प्रदेश सरकारको स्थायित्वले नै राष्ट्रिय सुरक्षा स्थितिमा पनि सकारात्मक प्रभाव पर्छ’ उनले भने ।

    प्रधान सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए । उनले भारत र चीनबिच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिष्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताए ।

    त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाई छ ।

    उनले भने – ‘विश्व राजनीतिमा चिनको बढ्दो उपस्थिति हुनसक्ने आँकलन हामी गर्छौं । किनकी चिन हाम्रो मित्र राष्ट्र हो । उत्तरपट्टिको एउटा असल छिमेकीको रुपमा रहेको छ । साथै साउथ चाइना सिको सुरक्षाको बारेमा युरोपियन थिएटरमा अवश्य पनि उहाँहरुले आफ्नो समस्याहरु राख्न सक्नुहुन्छ । क्षेत्रिय सुरक्षा वातावरणको कुरा गर्ने हो भने अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले हाम्रो क्षेत्रमा केही न केही असर पारिरहेको छ ।

    सुरक्षास्थितिलाई नकारात्मक रुपमा अगाडी बढाउनलाई त्यस्ता सम्बन्धहरुले सघाउ पुर्याउँछ । म्यानमारमा जारी गृहयुद्ध, भारत र चिनबिच दक्षिण एशियाली क्षेत्रमा बढीरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा बढीरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा परिस्थितिहरुले क्षेत्रिय शक्ति सन्तुलन र स्थिरतामा केही न केही प्रभाव पारिरहेको पाइन्छ ।

    त्यसको असर अवश्यपनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा समेत केही संख्यामा शरणार्थीहरु जसलाई हामी रोहिङ्या शरणार्थी आएर बसेका छन् । तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउनसक्ने सम्भावनाहरु देखिन्छ ।’

    प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताए । यद्यपी उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको बिरोध गर्नुपर्ने उनको भनाई छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताए । देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ ।

    उनले भने– ‘राष्ट्रिय सुरक्षाको सवाल उठ्दाखेरी हामीले दुईवटा देश आफ्नो छिमेकीहरुलाई कहिल्यैपनि चिढ्याउनु हुँदैन । र उनीहरुले नचाहिँदो कुरा गरेभने बिरोध पनि गर्नुपर्छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि इन्ट्रेष्ट छ । उनीहरुसँग पनि ब्यालेन्स गर्नुपर्छ । चीन, भारत, युरोपियन युनियन र अमेरिकाले जे भन्यो त्यो गर्ने होइन कि हामीले यि छिमेकीलाई चिड्याउनु हुँदैन ।

    यिसित मिलेर सकेसम्म फाइदा लिने हो । वार्ता गरेर, कुरा गरेर देशको हितका लागि फाइदा लिने हो । त्यो रुपमा लागेका छौँ । चाहे अमेरिकनसँग कुरा गर्नुपरोस् । सैन्य सहयोग लिनुपर्यो । अभ्यास गर्नुपर्यो । चीन, भारतसँग गर्नुपर्यो भनेपनि एकले अर्काको चित्त दुखाउने काममा गर्नु हुँदैन । हामी सजग लिएर काम गरेका छौँ । सबैको सहयोग चाहिन्छ हामीलाई । त्यो सन्तुलन गर्ने काममा हामी अति नै संवेदनशील भएर लागेका छौँ ।’

    उनले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend