logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चियाबारी–खुर्कोट सुरुङ मार्गलाई सरकारले बजेट दिने, बनाउन ४० अर्ब लाग्ने

    चियाबारी–खुर्कोट सुरुङ मार्गलाई सरकारले बजेट दिने, बनाउन ४० अर्ब लाग्ने

    1.1K
    Shares
    चियाबारी–खुर्कोट सुरुङ मार्गलाई सरकारले बजेट दिने, बनाउन ४० अर्ब लाग्ने

    सिन्धुली । बिपी राजमार्गअन्तर्गत पर्ने सिन्धुली चियाबारी–खुर्कोटमा सुरुङ मार्ग निर्माण थालनी गर्न सिन्धुलीका स्थानीय तहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले मागपत्रमार्फत प्रधानमन्त्री दाहालसँग चियाबारी–खुर्कोट सुरुङ निर्माण थालनी गर्न आवश्यक बजेटसहितको व्यवस्था मिलाउन माग गरेका हुन् ।

    सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्न सुनकोशी गाउँपालिका–७ कानढुङ्गी आइपुगेका प्रधानमन्त्री दाहाललाई कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिका पालिका प्रमुखहरुले उक्त मागपत्र बुझाएका हुन्।

    पूर्वी नेपाल तथा काठमाडौँको दूरी र पहुँचको हिसाबले अत्यन्त महत्वपूर्ण वैकल्पिक राजमार्गका रुपमा रहेको बिपी राजमार्गको सिन्धुलीमाढी चियाबारीदेखि गोलञ्जोर गाउँपालिकाको खुर्कोटसम्म करिब ३९ किलोमिटरमा सडक खण्ड कठिन अलाइन्मेन्ट, घुमाउरो र साँघुरो भएकाले दिनानुदिन दुःखद घटनाहरु घटिरहेको कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलद्वारा हस्ताक्षरित मागपत्रमा उल्लेख छ। यस विषयलाई दृष्टिगत गर्दै बेलाबेला चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्ने कुरा केन्द्रीयस्तरमा उठ्ने गरेको भए पनि कार्यान्वयनका लागि प्रयाससमेत नभएको गुनासो उल्लेख छ ।

    सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनीका लागि बजेटसहित आवश्यक प्रबन्ध चाँडै मिलाउने आश्वासन दिएका छन् । सरकारले खुर्कोट–चियाबारी सुरुङमार्ग बनाउने योजना यसअघि नै सार्वजनिक गरेको थियो ।

    सिन्धुलीमाडी–खुर्कोट सुरुङमार्ग निर्माणका लागि २०७६ देखि अध्ययन थालिने बताइएको थियो । त्यसबेला सुरुङमार्ग निर्माणका लागि जापानी सहयोग नियोग (जाइका) ले सहयोग गर्ने इच्छा देखाएको थियो। त्यसबेला एक वर्ष सुरुङमार्गको विस्तृत अध्ययन (डिपिआर) प्रतिवेदन बनाउन लाग्ने र त्यसपछि २ वर्षमा सुरुङमार्ग निर्माणको काम सक्ने योजना रहेको सडक विभागले जानकारी दिएको थियो।

    खुर्कोट–चियाबारी सुरुङ मार्ग निर्माण गर्न ४० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जाइकाको प्राविधिक टोलीले सार्वजनिक गरेको पूर्व संभाव्यता अध्ययन (प्रि फिजिबिलिटी स्टडी) ले सुरुङमार्ग बनाउ सो रकम लाग्ने अनुमान गरेको थियो । सडक विभागले खुर्कोट–चियाबारी सम्भाव्यता अध्ययनका लागि १० महिनाभित्र सक्ने गरी २०७४ कात्तिक २३ गते ठेक्का लगाएको थियो । उक्त सम्भाव्यता अध्ययन २०७६ मा सकिएको थियो ।

    वास्तविक लागत डिपिआर तयारपछि मात्र यकिन हुनेछ । राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा ठूला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पका रूपमाा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको हो ।

    जाइकाले गरेको प्रारम्भिक अनुमानअनुसार ७.८ किलोमिटर सुरुङ र १.५ किमी सडक निर्माण गर्नुपर्ने छ । विपी राजमार्गमा सुरुङ मार्ग र सडक गरेर करिब १० किलोमिटर निर्माण हुन्छ । सुरुङ बनेपछि २५ किलोमिटर सडक छोटो हुने जाइकाको अध्ययनले देखाएको छ।

    खुर्कोटबाट सिन्धुली पुग्न ३९ किलोमिटर पर्छ । सुरुङ बनेपछि लम्बाइ घट्नुका साथै पेट्रोलियम पदार्थको खपतमा पनि कमी आउनेछ । २६ अर्ब जापानी येन लगानी भएको बिपी राजमार्गको लम्बाई धुलिखेलदेखि बर्दिबाससम्म १ सय ६० किलोमिटर छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend