logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

    बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

    1.3K
    Shares
    बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजधानीको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह जैध तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबीच मिलेमतोमा बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना एक पैसा जग्गा दुरुपयोग गरेको उजुरीका आधारमा सिआइबी त्यसमा संलग्नहरूमाथि पक्राउ पुर्जी जारी गरी अनुसन्धान अघि बढाएको हो ।

    पक्राउ पुर्जी जारी हुनेमा नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्षद्वय रीता सिंह तथा चिरञ्जीवी तिवारी, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशङ्कर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

    त्यस्तै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दीपकदास श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, श्रद्धा सङ्घाई, पुरुषोत्तमराज जोशी, अभिनव सिङ्घानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएकामध्ये चिरञ्जीवी तिवारी, मनोहर गोपाल श्रेष्ठ र सुमन शाक्यको निधन भइसकेको छ ।

    सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

    उनले भने, “बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौँ ।” २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा रीता सिंह वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

    उनले बाल सङ्गठनको जग्गा अपारदर्शी रूपमा कब्जा गरी हानिनोक्सानी पुर्‍याएको पाइएपछि अनुसन्धान अघि बढाइएको बताए । नेपाल

    बाल सङ्गठन र वृहस्पति विद्या सदनबिच विसं २०४९ मा पहिलो पटक चार वर्षका लागि भाडा सम्झौता भएको थियो । सङ्गठनका पदाधिकारी तथा वृहस्पति विद्या सदनका पदाधिकारीबिचको मिलेमतोमा सो जग्गा पटक पटक गरी २०७२ साल न्यून भाडादरमा ७९ वर्षका लागि अपारदर्शी सम्झौताबाट नवीकरण गरिएको खुलेको सिआइबीले जनाएको छ ।

    पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी उनै वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएकी थिइन ।

    नेपाल बाल सङगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

    नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु १ करोड ९ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ ।

    विसं २०५८ भदौ ११ गते गरेको सम्झौता अनुसार बाल सङ्गठनको सो जग्गा २०८९ सम्मका लागि मात्र सम्झौता भएको थियो । तर पुरानो सम्झौताको अवधि समाप्त हुन १७ वर्ष बाँकी रहँदै विसं २०७२ असार ३ गते नयाँ सम्झौता गरिएको पाइएको छ । जुन सम्झौतामा पुरानो सम्झौता अनुसारको समयावधि सक्किएपछि लागु हुने गरी पुनः ३८ वर्षको समय थप गरिएको छ ।

    काठमाडौँको नक्सालदेखि ज्ञानेश्वर, हाँडी गाउँदेख गहना पोखरीसम्म फैलिएको सो बालमन्दिरको जग्गा प्रति रोपनी वार्षिक जम्मा तीन लाख ९३ हजार रुपियाँमा मात्र भाडा सम्झौता गरिएको छ । साढे २८ रोपनी क्षेत्रफल रहेको जग्गाको भाडा सम्झौता वार्षिक एक करोड १० लाख बुझाउने गरी भएको पाइएको छ ।

    बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह र वृहस्पति विद्या सदनका पुरुषोत्तमराज जोशीबिच २०७२ असार ३ गते ३८ वर्ष थप गरी पूरक सम्झौता भएको अनुसन्धानबाट खुलेको छ । नेपाल बाल सङ्गठनका तर्फबाट उक्त अवैध सम्झौता भङ्ग गरी बालमन्दिरको जग्गा दुरुपयोग गर्नेमाथि कारबाहीको मागसहित बिहीबार सिआइबीमा किटानी जाहेरी परेको थियो ।

    २०८९ सालमा सकिने सम्झौता पनि बदिनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको सूचनापछि सिआइबीले त्यसबारे आन्तरिक रूपमा अनुसन्धान गरिरहेको भए पनि जाहेरी नपरेका कारण अनुसन्धान अघि बढाएको थिएन ।

    व्यावसायिक घरना जोशी समूह र विशाल ग्रुपले अनाथ र असाहाय बालबालिकाको संरक्षणका लागि छुट्याएको जग्गामा अवैध रूपमा अपादर्शी भाडा सम्झौता गरी अनन्त कालसम्म व्यापारीलाई सुम्पिन खोजेको भन्दै सिआइबीले ठगी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend