
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारको अंकगणित मिलिरहेको भएपनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरु एक ठाउँमा उभिएको बताए ।
अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानूनी ढंगले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताए । उनले संवैधानिक अंगले वकीलहरुको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताए । उनले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताए । विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नता रहेको बताए ।
उनले भने, ‘अंकगणित त मिलेकै थियो, यहाँहरुलाई थाहा छँदैछ । अलिकति अंकगणितलाई फेरफार गर्ने गतिविधि पनि अण्डरकरेन्ट चलिरहेको छ भन्नेकुरा मिडियाहरुमा आयो । त्यो चिज अलिकति संवेदनशील थियो । त्यसको सत्यता सञ्चार क्षेत्रलाई नै बढी थाहा हुनसक्छ । हामी शतर्क हुनुपर्ने पक्ष के थियो भने अस्थिरताको शिकार जसरी मुलुक बनेको छ, त्यो अवस्था रहनु हुँदैन, हामी त्यसैकारण संघीय समाजवादी पार्टी बनिसकेपछि हामी अस्थिरताको कारक हुँदैनौँ भनेर हामीले घोषणा गरेका छाैँ ।’
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताए । महाधिवेशन नै कब्जा गरेर अनियमित ढंगले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि उपेन्द्र यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको दाबी गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend