logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : गगन थापा

    सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : गगन थापा

    728
    Shares
    सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : गगन थापा

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको उनको जिकिर थियो ।

    शुक्रवार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले काँग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए । उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे ।

    उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए ।

    महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेस सदन चल्नुपर्छ भन्ने कुरा गम्भिर छ । विधेयकहरु पारित होस् । लगानी सम्मेलन सजिलो होस् । धेरै कुरामा गम्भिर भयौँ । संघीय निजामती सेवा ऐन लगायतका विधेयकहरु सदनमा जाओस् भनियो । हाम्रो जम्मा एउटा कुरा थियो । अहिले पनि त्यही कुरा मात्रै छ । सहकारीको ठगीको सन्दर्भमा यो संसदले छानविन समिति बनाओस् ।

    यो संसदले छानविन समिति बनाउँदै गर्दा यो छानविन समितिमा नेकपा एमाले बस्ने होला, माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सबै बस्ने होला । त्यो त तपाईहरुकै हातमा छ । त्यो हामीले बनाउने होइन होला । मलाई कसैले आरोप लगाईदिए त मलाई त छानविन समिति बनाई दिए हुन्थ्यो भन्ने लाग्छ । समिति बनाएर छानविन गरिदिए आहा कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे ।

    किन डराएको, किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ । हुँदाहुँदा कानूनले भन्छ–महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्न नहुने , यहाँ त प्रभाव होइन, झुकाव राख्न नहुने । यहाँ त महान्यायाधिवक्ता त झुक्दाझुक्दा लम्पसार नै परिसक्नु भयो । किन डराएको ? के ल्याउने हो र ? यदि गल्ती गरेको छैन भने । सम्माननीय सभामुख महोदय, आज सम्मानीयज्यूलाई बुझाउने मेरो हातमा १५ वटा पत्रहरु छन् । पत्र लेख्न मलाई पनि आउँछ । पत्र बुझाउन हामीलाई पनि आउँछ । यहाँ गृहमन्त्रीमाथि कुनैपनि अभियोजन भएको छैन, कुनै पनि अनुसन्धान भएको छैन ।

    सम्माननीय प्रधानमन्त्रीज्युले यहाँ उभिएर बोल्नुभएको छ । झुट बोल्ने ? महान्यायाधिवक्ताको कार्यालयलाई झुट बोल्न लगाउने ? त्यही प्रहरी कार्यालय रुपन्देहीको गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएको प्रमाणहरु छन् । आफैँले माग फारम भरेर सहभागीबाट लिएको ऋणको प्रमाण पेश गरौ ? एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्र्रमाणहरु पेश गरौं ? कतिवटा प्रमाणहरु पेश गरौं ।

    मैले पेश गरेका प्रमाणहरु गलत हुन भनेर सावित गर्ने कुरा संसदीय समितिबाट कति मज्जा आउँथ्यो होला । गलत सावित गरिदिनुस्न मलाई । गलत सावित गरिदिनुस्न नेपाली काँग्रेसलाई । यही भनिरहेको होइन ? त्यसैले सम्माननीय सभामुख महोदय, म यति मात्रै भनेर टुंग्याउन चाहन्छु–यो संसद भित्र प्रमुखप्रतिपक्ष दलले गम्भिरताका साथ यो कुरा उठाईसकेपछि र संसदीय छानविन समिति बनाएपछि अरु केही पनि चाहिदैन । सरकार तपाईहरुले नै चलाउनुहोस् । मज्जाले चलाउनुहोस् ।

    ४ वर्ष नै चलाउनुहोस । केही हुन्न । नडराउनुहोस् । कुनै तोडफोड केही गरिराख्न पर्दैन । ढुक्कले चलाउनुहोस । छानविन समिति बनाऔं । तपाईहरुले नेतृत्व गर्नुहुन्छ । हामीहरुसँगै बसेर हेर्छौं । हामीलाई गलत सावित गरिदिनुस । हामी सही छौं भने हाम्रो कुरा जान्छ । त्यति गर्दागदै बाँकि रहेका कामहरु गर्दै जाउँ भन्दाखेरी हेप्न खोज्ने सभामुख महोदय । पेल्न खोज्ने ? अहिले यहाँ सम्माननीय सभामुख महोदयले यहाँ भित्र अहिले संख्याको आधारमा हेपेर, पेलेर सरकारका कामहरु अघि बढाउँछु भन्ने ठान्नु भएको छ ? सदन मात्रै छ ? सदन पनि छ ।

    सम्माननीय सभामुख महोदय, संसदीय छानविन समिति नबनिकन अब सदनको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौं । यो सदन अघि नबढने कुराको जिम्मेवार नेपाली काँग्रेस होइन, सम्माननीय प्रधानमन्त्रीजी र सरकारको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो राज्यको तमाम अंगहरुलाई । वासिङ मेशिन जस्तो प्रयोग गरियो ।

    तपाईहरुले धोएर धोइन्न, पखालेर पखालिन्न । दुधको दुध, पानीको पानी संसदीय छानविन समितिले छुट्टयाउँछ । त्यसैले जबसम्म छानविन समिति बन्दैन । त्यो बेलासम्म अव हामीलाई भन्न पाईदैन । बजेट जाओस्, नीति, कार्यक्रम जाओस् । सबै कुरा जाओस भनेर यति धेरै प्रत्येक चोटीको भेटमा, सर्वदलीय बैठकमा सबै कुरा राखेर छानविन समिति बनाऔं । लिड तपाईहरुले नै गर्ने हो ।

    कसैले राजीनामा दिनु पर्दैन ? भन्दाभन्दै पनि यो कुरालाई स्वीकार नगर्ने कुराले सरकार आफैँ निहुँ खोज्न आएको हो । सरकार आफैँ वातावरण बिगार्न आएको हो । सरकारकै कारणले गर्दा यो अप्ठयारो सृजना भएको हो । अब संसदको कुनै पनि काम कारबाही अगाडि बढ्ने कुरामा नेपाली काँग्रेसका साथ रहँदैन । जबसम्म संसदीय छानविन समित बन्दैन । ’

    महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि सरकारले महान्यायाधिवक्ताको कार्यालयको समेत दुरुपयोग गरेको आरोप लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend