काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा अवरोध गर्दै आएको छ।
आज (मंगलबार) बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई सदनमा निर्वाध रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सो पार्टीका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगनकुमार थापासँग भएको छलफलमा आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले सहज रूपमा सदन सञ्चालनका निम्ति सहयोग गर्न आग्रह गरेका थिए।
संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।
सरकारले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने संकेत गरेपछि कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।
संसदीय समिति नबने संसदमा नीति तथा कार्यक्रम छलफलमा अवरोध गर्ने जानकारी कांग्रेसले दिएको छ ।