काठमाडौं । सत्तारुढ प्रमुख ३ दलका शिर्ष नेताहरुले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखेका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच सहकारी प्रकरणमा आफैँले लगाएको आरोपको खण्डन गर्न पाउने गृहमन्त्रीको लोकतान्त्रिक अधिकारको अभ्यास गर्नका लागि नेपाली कांग्रेस तयार हुनुपर्ने अडान राखेका हुन् ।
सत्तारुढ दलका शिर्ष नेताहरुले संसदमा गृहमन्त्रीले दिएको आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानविनका लागि कांग्रेसले राखेको मागको सम्मान गर्ने पनि प्रष्ट्याएका छन् । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछानेले सदन र सडक सबैतिर आफूमाथि लगाइएको आरोपको खण्डन गर्न संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल गरिएको बताए । लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने अधिकारलाई अभ्यास गर्न दिन नेपाली काँग्रेस चुक्नु नहुने बताए ।
उपप्रधानमन्त्री लामिछानेले भने, ‘हाम्रो त त्यही छ, नयाँ कुरा केही मसँग केही छैन । हामीले मागेको नै के छ र । एकपटक बोल्न त पाउनु पर्यो । निरन्तर रुपमा प्रश्नहरु उठे । आरोपहरु लागे । सदनमा पनि गालीगलौज नै चल्यो । सडकमा पनि चलिसक्यो अब त । भनेपछि लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने त्यो अधिकार पनि हो ।
त्यति एउटा चिज नै हो । त्यसपछाडि अघि बढिहाल्छ । त्यसपछि पनि भएन, चित्त बुझेन, जवाफनै चित्त बुझेन भने उहाँहरुको अधिकारको त हामी फेरी सम्मान गरिहाल्छौं नि । त्यसपछि विरोध गर्ने उहाँहरुको अधिकारको हामी पूरै सम्मान गरिहाल्छौं ।
मलाई जहाँसम्म लाग्छ, त्यति बोल्न हामीले पाउनुपर्ने भन्ने हाम्रो भनाई हो । मैले त पहिलेदेखिनै त्यही कोशिस गरिराखेको छु । लोकतन्त्रमा त्यति अभ्यास गर्न पाउनु पर्छ । नेपाली काँग्रेसजस्तो पार्टीलाई त्यति अभ्यामा त चुक्नु हुँदैन जस्तो लाग्छ मलाई । ’
नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको जिकिर गर्दै संसदीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएको छ । यता, सत्तारुढ दलका शिर्ष नेताहरु दाहाल, ओली र लामिछानेबीच पनि संसदलाई सुचारु गराउने विषयमा केन्द्रिय रहेर निरन्तर छलफल भईरहेको छ ।
एमाले अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठकमा कांग्रेस भोली बोलाइएको संसद बैठकमा पनि उपप्रधानमन्त्री लामिछानेलाई बोल्न नदिने हो भने त्यसको प्रतिकार गरेर अघि बढने चेतावनी पनि दिएका छन् ।