काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट बहुमत पाएका छन् । बिहीवार मुख्यमन्त्री सोडारीले प्रदेश सभाका २८ प्रदेश सभा सदस्यको बिश्वासको मत पाएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का दलका नेता रहेका सोडारीलाई उनको दलका चार प्रदेश सभा सदस्यहरुसहित एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् । नेपाली काँग्रेसका १९, राप्रपा एक र नागरिक उन्मुक्तिका पाँच जना प्रदेश सभा सदस्यहरुले मतदानमा भाग लिएका छैनन ।
मुख्यमन्त्री सोडारीको विपक्षमा मत परेको छैन । तेस्रो अधिवेशनको १० औँ बैठक नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले अवरोध पारेका थिए । उनीहरुले मुख्यमन्त्री नियुक्तीमा प्रदेश प्रमुखको व्ययभार असंवैधानिक भएको आरोप छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी गएको वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।
सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्य लगायतको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २० र २१ गते गरी दुई पटक विश्वासको मत लिने प्रयास गरेका भएपनि तत्कालीन समयमा नेकपा (एमाले) ले विश्वासको मत दिन नसक्ने भनेपछि स्थगित गरिएको थियो ।
एमाले संसदीय दलले सरकारमा नजाने तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि उनले आज बिहिवार विश्वासको मत लिएका हुन । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमत पु¥याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।
गठबन्धन दल एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात र मुख्यमन्त्रीको आफ्नै पार्टी नेकपा (एकीकृत समाजवादी) का चार जना प्रदेश सभा सदस्य छन् । यसैगरी, एक स्वतन्त्र प्रदेश सभा सदस्यको पनि मुख्यमन्त्रीलाई समर्थन गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहे पनि पार्टी अध्यक्ष पक्षधर भनिएका दुई जना प्रदेश सभा सदस्यको मात्रै मुख्यमन्त्रीलाई समर्थन रहेको देखिन्छ । मुख्यमन्त्रीलाई समर्थन गर्ने दुवै जना मन्त्री नियुक्त भएका छन् ।