कञ्चनपुर । कञ्चनपुरस्थित हुलाकी सडकखण्डमा विस्फोटक पदार्थ पड्कीएको छ ।
पुनर्वास नगरपालिका–१ ढक्कास्थित कालोपत्रे गरिएको पक्की सडकमा आज दिउँसो विस्फोटक पदार्थ पड्कीएको हो ।
कुनै बस्तु पड्कीएर पक्की सडकमा ठूलो खाल्डो परेको र धुवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर खोज अनुसन्धान गरेको थियो । आज साँझसम्म गरिएको खोज अनुसन्धानका क्रममा पुरानो बाल्टिनको तल्लो भाग र बेरिएको पोलिथिनको टुक्रा फेला परेको नेपाली सेनाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ बाल्टिन बम जस्तो देखिएको बताउँदै फेला परेका बस्तुलाई थपअनुसन्धानका लागि प्रयोगशालामा पठाइने नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ ।
विस्फोटक पदार्थ पड्कीदा हुलाकी सडकखण्डको करिब २ मिटर जति गोलाइमा खाल्डो परेर क्षति पुगेको छ ।