काठमाडौं । आईसीसी टी–२० विश्वकपअघि नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ ।
विश्वकपअघि आईसीसीले प्रदान गर्ने दुई अभ्यास खेल तय गरिएको हो । आईसीसी पुरुष टी’२० विश्वकप २०२४ को अभ्यास खेल २७ मे र १ जुनको बीचमा खेलाइनेछ।
सोमबार, २७ मे देखि शनिबार, १ जुन सम्म संयुक्त राज्य अमेरिका र ट्रिनिडाड र टोबागोमा तय गरिएको छ। त्यसअन्तर्गत नेपालले २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा (अभ्यास) वार्मअप खेल खेल्नेछ ।
दक्षिण अफ्रिकासहित कुल १७ टोलीले वार्मअप खेल खेल्दैछन्, जसले २९ गते फ्लोरिडामा इंट्रा–स्क्वाड खेल्दैछन्।
आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।
समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।