काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताए । उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरुको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताए । उनले श्रमीकहरु ठगिनु, दुःख पाउनु नहुने बताए ।
उनले भने, ‘नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन् । एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ । साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ । त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरु रोजगारीमा गएका साथीहरु ठगिनु भएन । दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् । यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ ।’
सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।