काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानविन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ । आईतवार दिनभर बसेको संसदीय छानविन समितिको कार्य क्षेत्रको विषयमा सहमती जुटाउने बसेको कार्य दलको बैठकमा कांग्रेसले आफ्नो पुरानै अडान यथावत राखेपछि सहमती जुट्न नसकेको हो ।
तर नेताहरुले फेरि आजै साँझ बैठक बस्ने र सहमती जुटाउन प्रयास गर्ने बताएका छन ।
यता सत्तापक्षले भने आरोप लगाउँदैमा दोषी करार गर्ने ढंगले कांग्रेसले प्रस्ताव ल्याएको मान्य नहुने प्रतिक्रिया दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आरोप लाग्दैमा पार्टीका सभापति रवि लामिछानेलाई दोषी करार गर्ने खालको प्रस्ताव कांग्रेसले गरेको भन्दै मान्यता नहुने बताए ।
सांसद खनालले भने, ‘हामी बिहानदेखि नै छलफलमा छौं । सकेसम्म हिजोको स्पिरिटमा मिलाएर जाऔ हिजो भएको शिर्ष दलका नेताहरुको सहमतीअनुसार भन्नेमा छौं । अहिलेसम्म हामी मोटामोटी हिसावले भन्दा आआफ्नो अडानमा छौं हामी । अब हामीले शुरुदेखि नै उठाईरहेको पार्टी सभापतिमाथि उठेका प्रश्नको जवाफ संसदबाटै दिन पाउनुपर्छ भन्ने कुरा हाम्रो यथावत नै छ ।
आजको दिनमा कुनै एउटा व्यक्तिलाई दोषी करार गरेर त्यसैमाथि मात्रै छानविन गर्नुपर्छ भन्ने कुरा न्याय सम्मत हुँदैन भन्ने हाम्रो बुझाई छ । र हामी जसरी देशभर लाखौं बचतकर्ताहरुको बचत समस्यामा छ । त्यसको पनि समाधानमुखि बाटोमा संसदीय समिति जाओस् भन्ने मागमा हामी छौं । उहाँहरुले जुन भाषा प्रयोग गर्नुभएको छ । त्यसमा पार्टी सभापतिलाई दोषी करार गरेजस्तो देखिएको छ ।
त्यो आरोपलाई नै दोष मान्न मिल्दैन । छानविनले भोलि के गर्ला, त्यसमा हामी ओपननै छौं । त्यसमा हाम्रो पार्टी सभापतिले पनि भन्नुभएको छ–दोषी प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । तर आजको दिनमा संसदीय छानविन समितिको टिओआर बनाउँदा नै त फलानोफलानो दोषी होस । फलानोफलानोलाई छानविन गर भन्ने किसिमको भन्ने किसिमको जुन प्रस्ताव आएको छ । त्यसमा हाम्रो असहमती छ । तर यसलाई मिलन विन्दुमा ल्याउने प्रयासमा हामी लागिरहेका छौं ।’
प्रमुख दलका शिर्ष नेताहरुले सहकारी प्रकरण छानविनका लागि संसदीय समिति बनाउन सहमत भएपछि त्यसको टिओआर तय गर्न सो कार्यदलमा छलफल गरिएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजकत्वमा रहेको सो कार्यदलमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्र्ताैला, राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल रहेका छन् ।