काठमाडौँ । नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत छात्रतर्फको खेलमा जित हात पारेको छ ।
चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई आज ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पारेको हो । यसअघि नेपाल श्रीलंका र पाकिस्तानसँग पराजित भएको थियो ।
यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो सिंगल्समा नेपालका विश्व विशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–० र ६–३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हराए ।
नेपाल टेनिस संघद्वारा आयोजित उक्त प्रतियोगिताको छात्रमै पाकिस्तानले श्रीलंका तथा भारतले बंगलादेशलाई समान ३–० ले पन्छाए । योसँगै छात्रमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलंकासँग हुनेछ भने पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।
यसैगरी छात्रामा श्रीलंकाले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६–० र ६–० तथा श्रीलंकाकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६–० र ६–१ को सोझो सेटमा पन्छाए ।
डबल्समा श्रीलंकाका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४ र ६–३ को सेटमा पाखा लगाए । नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।