
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रलाई साथमा लिएर जाने बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकारस सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
उनले, देशको आर्थिक विकासमा निजी क्षेत्रलाई साझेदारीका रुपमा अघि बढाउन चाहेको बताए ।
पूर्वाधार विकासमा लाग्ने अर्बौ रुपैयाँको लागत निजी क्षेत्रको सहायतामा अघि बढाउने निष्कर्षमा सरकार पुगेको उनको भनाई छ ।
त्यस्तै, अर्थमन्त्री पुनले आगामी १० वर्षमा नेपालले ३० खर्बको आईटी उत्पादन निर्यात गर्ने दाबी गरे ।
उनले भने ‘आईटी क्षेत्रमा राम्रो प्रतिस्पर्धी बन्न सक्ने सम्भव देखेकाले १० वर्षमा ३० खर्ब बराबरको उत्पादन निर्यात गर्नसक्ने हाम्रो दाबी छ, हेर्दा महत्वकांक्षी जस्तो देखिए पनि यो सम्भव छ।’
काठमाडौं लगायतका केही स्थानमा ज्ञान पार्क र वर्क स्टेशनको रूपमा विकास गर्न तयारी गरेर कार्यक्रम घोषणा गरिएको उनले बताए।
बुटवलमा भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वरपर र सातै प्रदेशमा पनि निश्चित स्थानको व्यवस्था गरेर विजुली, इन्टरनेट र सुरक्षाको अवस्था राज्यले गर्ने उनले बताए।
पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । सोही लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट ल्याएको उनले बताए ।
स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका लक्ष्य बजेटमार्फत लिइएको बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend