
काठमाडौं । राजधानीको तिलगंगा आँखा प्रतिष्ठान अब विश्वविद्यालय बन्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
सरकारले आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन संघीय संसदमा विधेयक पेश हुने भएको छ । सन् १९९४ मा अस्पताल स्थापना भएको हो । अस्पतालले स्थापनाको तीन दशकमा विश्वविद्यालय बन्ने तयारीमा पुगेको छ । नेपालमा आँखाका बिरामीहरुका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ डा. रिता गुरुङ र डा. सन्दुक रुइतले त्यो समयमा तिलगंगास्थित एउटा भवनमा अस्पताल सञ्चालन गर्ने योजना बनाएका हुन्।
प्रतिष्ठानले आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा,आँखाको प्लाष्टिक सर्जरी,बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर साथै सामुदायिक आँखा सेवामा विशिष्ट तालिम प्राप्त नेत्र विशेषज्ञद्धारा सेवा प्रदान गरिरहेको छ।
त्यस्तै अध्ययन तथा तालिम विभाग अन्तर्गत आँखा सेवाको लागि चाहिने सबै प्रकारको जनशक्ति नेत्र रोग विशेषज्ञ, अप्ट्रोमेट्रिष्ट,नेत्र सहायक, आँखा स्वास्थ्य कार्यकर्ता पनि उत्पादन गरिरहेको छ ।
अस्पतालले नेपालमा लेन्सको उत्पादन सुरु गरेर सस्तो वातावरण बनाइदियो। अहिले भने अस्पतालले सस्तोमा बिरामीलाई लेन्स प्रदान गर्दै आएको छ। तिलगंगामा बनेको लेन्स विदेशमासमेत निर्यात हुने गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend