काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले संयुक्त सरकारको सञ्चालनको विधिअनुसार बेजट निर्माण नभएको बताएका छन् । आईतवार राष्ट्रिय सभाको बैठमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारको नीति कार्यक्रम र बजेट तयार गर्दा सरकारमा सामेल भएका राजनीतिक दलहरुसँग छलफल गरेर ल्याउनुपर्ने भएपनि त्यो हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रमको आधार बजेटमा छ की छैन ? भन्दै प्रश्नसमेत गरे ।
उनले संयुक्त सरकार बनाउँदाका न्युनतम नीति वा प्राथमिकताका साझा संकल्पमा टेकेर ल्याइएको छ की छैन भन्ने उनको प्रश्न थियो । उनले शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने गरी बजेट ल्याउन आवश्यक रहेको बताए ।
उनले भने, ‘संयुक्त सरकारको सञ्चालनको विधि के छ ? सरकारको नीति कार्यक्रम र बजेट तयार गर्दा सरकारमा सामेल भएर वा भरसक अध्यक्ष वा उहाँले तोकेका व्यक्ति राखेर छलफल गर्नुपर्ने यो गरेको छ की छैन । यसको जवाफ अर्थमन्त्रीज्युले दिनुहुनेछ । नीति तथा कार्यक्रमको आधार बजेटमा छ की छैन । यो बजेट संयुक्त सरकार बन्दा न्युनतम नीति वा प्राथमिकताका साझा संकल्प त्यसले जे संकल्प बोकेको थियो वा त्यसलाई हेरेर ल्याउनुपर्ने त्यो हेरेर ल्याएको छ की छैन ।
यसले प्राथमिकता पाएको छ की छैन । १६ औं पञ्चवर्षीय योजनाका लक्ष्य हाँसिल गर्न ध्यान दिइएको छ की छैन । शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा कार्यक्रम आउनुपर्ने हो ।’
उनले समृद्ध नेपाल र सुखी नेपालको नाराका आधारमा बजेट आएको भन्दै सही कुरा समावेश गरिएको पनि बताए । उनले कृषि क्षेत्रको रुपान्तरणको विषय पहिलो प्राथमिकता पर्नु राम्रो भएको उल्लेख गरे ।