logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नमोबुद्ध–तेमाल सडक छेउका संरचना भत्काउन ६ महिना समय थप

    नमोबुद्ध–तेमाल सडक छेउका संरचना भत्काउन ६ महिना समय थप

    469
    Shares
    नमोबुद्ध–तेमाल सडक छेउका संरचना भत्काउन ६ महिना समय थप

    काभ्रेपलाञ्चोक । निर्माणाधीन नमोबुद्ध–तेमाल सडकअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानमा मापदण्ड विपरीत बनाइएका भौतिक संरचना भत्काउन छ महिनाको समयसीमा थपिएको छ । उक्त क्षेत्रका ५९ घरटहरा तथा अन्य भौतिक संरचना भत्काउन गाउँपालिका र स्थानीय व्यवसायीबीच छ महिना समय थप्ने सहमति भएको हो ।

    सडक दायाँबायाँ सार्वजनिकस्थलमा बनाइएका संरचना भत्काएर खाली गरिदिन यसअघि गाउँपालिकाले गत चैतमा ३५, १५ र सातदिने सार्वजनिक सूचना जारी गर्दै आएको थियो ।

    स्थानीय व्यवसायीले थप समयसीमाका लागि लिखितरुपमा माग गरेपछि सरोकार भएका व्यक्तिबीचको छलफलपछि समय थप्ने सहमति भएको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताए । सडक विस्तारसँगै सुन्दर तेमाल निर्माण गर्न व्यवसायीले देखाएको चाहनाअनुसार घरधनी आफैँले छ महिनाको समयसीमा माग गरेपछि दिइएको उनले बताए ।

    हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको दुई खण्ड १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको अध्यक्ष तामाङले जानकारी दिए । नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचना निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा स्थानीयले घर बनाउन थालेको उहाँको भनाइ छ ।

    नारायणस्थानमा रहेको सार्वजनिक पोखरीमा वरिपरि निर्माण गरिएका पक्की संरचना हटाई पहिलाकै अवस्थामा ल्याउने प्रयास भइरहेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए । उनका अनुसार गाउँपालिकाद्वारा जारी सूचनामा थप गरिएको समयसीमाभित्र आफैँले भत्काउन अटेर गरे पालिकाले भत्काउने उल्लेख गरिएको छ ।

    स्थानीय तेमाल सिं तामाङलगायत केहीले विसं २०५९ पछि सो क्षेत्रमा पक्की घर निर्माण गरेका थिए । “पक्की संरचना पहिला नै बनाएका थियौँ । अहिले पालिकाले अतिक्रमित सार्वजनिक फिर्ता लिने पहल थालेको छ”, उनले भने, “पालिकाले दिएको समयमा थप छ महिना माग गरेका छौँ । अब जोगाउन सकिने सामग्री जोगाएर घर भत्काउनेछौँ ।”

    तामाङले कतिपय स्थानीयको बसोबासको व्यवस्था गर्नुपर्ने भएकाले जनप्रतिनिधिलाई संवेदनशील बन्न आग्रह गरिएको बताए । पालिकाले थपेको समयभित्र अवैध संरचना हटाएर सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

    सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी विसं २०७९ साउन १६ गते निर्माण कम्पनी केएस देवी रमन/तेज जेभीलाई रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सवबेस (माटो, बालुवा र गिट्टीको मिश्रण), कालोपत्रलगायत काम गर्नुपर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend