काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्लीका लागि उडेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन् ।
उनलाई बिदाई गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ लगायत अन्य उच्चपदस्थ व्यक्तिहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिए ।
औपचारिक भ्रमणका क्रममा दाहाल मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुनेछन् । आईतबार साँझ मोदीको शपथग्रहणमा सहभागी बन्ने र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री गंगा दाहाल लगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु रहेका छन् । प्रधानमन्त्रीको बिदाईमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किने कार्यक्रम छ ।