logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ : नेता खनाल

    वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ : नेता खनाल

    572
    Shares
    वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ : नेता खनाल

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतीमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । सोमबार अखिल नेपाल महिला संघ (समाजवादी)को वैचारिक मुखपत्र महिला संकल्प–२ को विमोचन समारोहलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

    उनले पार्टीको आगामी महाधिवेशनबाट सहमतीमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताए । उनले नेताहरुको टाउको जोडेर मात्रै सहमति नहुने भन्दै वैचारिक, राजनीतिक कार्यदिशा तथा नीति र सिद्धान्तमा आधारित भएर पार्टीको नेतृत्वका लागि सहमति गर्नुपर्ने बताए । उनले सहमतिमा नेतृत्व चयन गर्नका लागि सबैले प्रयत्न गर्नुपर्ने बताए ।

    उनले भने– ‘नेतृत्व निर्माण गर्ने भनेको कमरेडहरुले भनेजस्तै एकदमै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर सहमति भनेको के त ? सहमति भनेको केमाथि आधारित हुन्छ ? यसो हामीले टाउका जोडेर हुन्छ कि ? अकंमाल गरौँ कमरेडहरु भनेर हुन्छ कि ? के ले हाम्रो एकता गर्छ ? तपाईं हामी सबै के आधारले यहाँ जुटेका छौँ ? हामी जुटेको भनेकै एउटा वैचारिक, राजनीतिक कार्यदिशाको आधारमा, नीतिको आधारमा, सिद्धान्तको आधारमा, एउटा लक्ष्यको आधारमा तपाई हामी जुटेका छौँ ।

    पार्टी भनेको त्यस्तै हो । त्यो निश्चित आदर्श, सिद्धान्त, नीतिको आधारमा हुने कुरा हो । त्यसरी नै नेतृत्व निर्माण पनि सही वैचारिक, राजनीतिक, आधारमा हुन्छ । सहमतीका साथ गर्नुपर्छ, एकदम ठिक हो । तर त्यो सहमती केमाथि आधारित हुनुपर्यो ? वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्तमाथि आधारित हुनुपर्यो । त्यस्तो आधारित सहमतीको नेतृत्व निर्माण गर्यौँ भने त्यो सुनमा सुगन्ध हुन्छ । त्यसकारण सुनमात्रै नबनाऔँ । सुगन्ध आउने सुन बनाऔँ । त्यसको लागि हामी सबैले प्रयत्न गर्नुपर्ने हुन्छ । सबैले प्रयत्न गर्यौँ भने सुनमा सुगन्ध आउँछ ।’

    सम्मानित नेता खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्यहरु रहेको भन्दै धेरै भन्दा धेरै महिला तथा श्रमिक महिलाहरुलाई पार्टीमा संगठित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend